नेकपा (एमाले)की स्थायी समिति सदस्य विन्दा पाण्डेले हरेक मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म लैङ्गिक समानता र अधिकारको लडाइँ अपूर्ण हुने बताउनुभएको छ ।
रिडर्स झापाले आज झापाको काँकडभिट्टामा ‘धर्तीमाथिको दाबी’ नामक पुस्तकको विषयमा आयोजना गरिएको अन्तक्र्रियामा उहाँले नेपाली समाजमा विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनले सत्ताको प्रणाली फेरेतापनि प्रवृत्ति बदल्न नसकेको बताउनुभयो ।
राजनीतिक दलको नेतृत्वमा समेत पित्तृसत्तावादी सोच हाबी रहेको जिकिर गर्दै उहाँले पठन संस्कृति र प्रश्न गर्ने बानीले मात्र नेतृत्वको सोच र व्यवहार बदल्न सकिने बताउनुभयो । ‘धर्तीमाथिको दावी’ उहाँको पछिल्लो प्रकाशित कृति हो । कार्यक्रममा कृतिका बारेमा सहजकर्ता सागर शिवाकोटीले विभिन्न प्रश्न गर्नुभएको थियो ।
पाण्डेले यस कृतिमा आफ्नो राजनीतिक जीवनको सङ्घर्षदेखि संविधानसभा सदस्यको भूमिकामा रहेर लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्दाताका महिला अधिकारका लागि गरिएको रस्साकस्सीका बारेमा विशेष चर्चा गर्नुभएको कार्यक्रमका सहजकर्ता शिवाकोटीले बताउनुभयो ।
सहभागीबाट सोधिएका प्रश्नहरुको जवाफ दिने क्रममा कृतिकार पाण्डेले पितृसत्ताको अन्त्य गर्नका लागि महिलाबाद लागू हुनुपर्ने चर्चा गर्नुभयो । उहाँले माक्र्सवाद, लेनिनवाद र माओवादी जुनसुकै वैचारिक मार्ग अपनाए पनि वर्गीयमुक्तिको कुराले मात्र महिला मुक्ति सम्भव नहुने र समानताको लडाइँका लागि महिलावाद अपरिहार्य भइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ठूला नेताले जे अह्राउँछन् त्यही मात्र सही भन्नुको साटो नयाँ पुस्ता तथ्य खोजेर मात्र विश्वास गर्छन् । नयाँ पुस्ताले मात्र समानता र समावेशीको सिद्धान्तलाई बिनाहिच्किचाहट व्यवहारमा उतार्छन् ।”
प्रतिक्रिया