भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सडक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । धनुषाको हंसपुर नगरपालिकास्थित अमारी नदीमा नवनिर्मित पुलको आज उद्घाटन कार्यक्रममा मन्त्री यादवले सडक पूर्वाधारको विकासविना मुलुकको विकास र समृद्धि सम्भव नभएकाले सडक पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
नेपालका हरेक सहर र गाउँलाई सडक सञ्जालमार्फत जोड्ने सरकारको नीतिअनुरूप नै अहिले देशभरि तीव्ररूपमा सडक र पुल निर्माण कार्यले तीव्रता पाएको उल्लेख गर्दै मन्त्री यादवले सडक पूर्वाधार निर्माणसँगै मुलुक आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
शहरी विकास मन्त्रालयको कूल रु नौ करोड ५० लाखको लागतमा भैरव कन्स्ट्रक्सन प्रालिले सो पुल निर्माण गरेको सडक डिभिजन कार्यालय धनुषाका प्रमुख इञ्जिनीयर सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो । मन्त्री यादवले आजै धनुषा र महोत्तरी जोड्ने ४०० मिटर लामो रातो खोला पुल र धनुषाको मुखियापट्टी मुसहरनियाँस्थित कुकुरधारी पुलको पनि उद्घाटन गर्नुभयो ।
प्रतिक्रिया