×

राष्ट्रपतिद्वारा विवादस्पद नागरिकता विधेयक प्रमाणित

images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन ।

प्रधानमन्त्रीको भारत भ्रमणको  दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मन्त्रिपरिषद् बैठकले नै निर्णय गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेको थियो । यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌बाट दुई-दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरिदिँदा नागरिकता विधेयक शीतल निवासमा थन्केर बसेको थियो। 

वर्तमान सरकारले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो। यसअघि २०७९ साउन २९ गते संघीय संसद्का दुवै सदनबाट पारित विधेयक राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी थिइन्। त्यसपछि फेरि भदौ २० गते संसद्‌का दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको विधेयक भण्डारीले असोज ५ गतेसम्म त्यसै रोकेकी थिइन्। 

उनलाई दोस्रोपटक विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता थियो। तर, भण्डारीले त्यसै समय गुजारिन् र विधेयक शीतल निवासमै अड्काएकी थिइन्।  सोही रोकिएको विधेयकलाई अहिलेका राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।  

बुधबार १७ जेठ २०८० ११:३७ AM मा प्रकाशित

प्रतिक्रिया