×

भीषण आगलागीमा परेर १२ तल्लाबाट हाम्फाल्नु अघि एक नेपालीको लाइभ भिडिओ, बाबा अलवेज लभ्स यू छोरा, कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न, आफूले सकेको सहयोग गर्नुपर्छ है

images

काठमाडौं । कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो ।

पाण्डेका सहपाठी दिनेश सिलवालले बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको पुष्टि भएको बताए । ‘त्यहाँ एकजना नेपाली साथी पनि हुनुहुन्थ्यो, उहाँले स्थानीय प्रहरीमा गएर शव सनाखत गर्नुभएको छ’, सिलवालले भने, ‘थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव ल्याउनका लागि पहल भइरहेको छ ।’

निराकार थाइल्यान्डबाट घुम्न भनेर कम्बोडिया पुगेका थिए। उनी होटलको १२ औं तल्लामा बसेका थिए। आगलागी भएपछि होटलबाट बाहिर निस्कने खोजे पनि उनी असमर्थ भएका थिए। आगलागी भएर होटलमा थुनिएका बेला निराकारसँग उनका दाजु निरज पाण्डे र परिवारका सदस्यहरूले ४ घन्टा भिडिओ कलमा कुराकानी गरे।

दाजु निरजका अनुसार निराकर दुई महिनाअघि, नोभेम्बर ७ तारिखमा थाइल्यान्ड गएका थिए। त्यहाँबाट घुम्नका लागि कम्बोडिया पुगेका थिए। कान्छा भाइ निराजनको बिहेपछि निराकर थाइल्यान्ड गएका थिए। सीएनएनमा आज प्रकाशित समाचारअनुसार अधिकारीहरुले अहिले मृत्यु भएका व्यक्तिहरुको राष्ट्रियता पत्ता लगाउने काम थालेका छन् । आगलागीको कारण अहिलेसम्म खुलेको छैन । कम्बोडियन सरकारले अनुसन्धानका लागि एउटा कमिटी गठन गरेको छ । कम्तिमा ७० जना आगलागीमा परेर घाइते भएको जनाइएको छ ।

कम्बोडियन अधिकारीहरुले शुक्रबार होटलका कोठाहरुमा थप शवहरु भेट्टाएका थिए । यसअघि होटलभित्र सबैतिर धूवाँ फैलिएर उद्दारमा कठिनाइ भएकोमा अहिले धूवाँ हटेको छ । धूवाँभित्र निस्सासिएर केही व्यक्तिको मृत्यु भएको अनुमान छ ।

थाइल्यान्डबाट आएका उद्दारकर्ताहरुका अनुसार केही व्यक्तिहरुले आगलागीपछि होटलबाट तल हाम्फालेका थिए ।
‘दुई व्यक्तिहरुले होटलबाट हाम्फालेलगत्तै मृत्यु भयो । चार-पाँच जनाको खुट्टा भाँच्चिएको छ,’ उद्दारकर्ता पिरापन श्रीसाकोर्नले सीएनएनलाई बताएका छन् ।

होटलका कोठाहरु तथा भर्याङमा विद्युतीय प्रणाली जडान भएको थियो । आगलागी लगत्तै विद्युत अवरुद्ध भएपछि होटलभित्र रहेका मानिसहरु बाहिर निस्किन र तल ओर्लन सकेनन् । कोठाभित्रै थुनिएकाहरुलाई उद्दार गर्न पनि सम्भव भएन ।

होटलबाट कम्तिमा ७०० जना थाइ नागरिकहरुको उद्दार गरेर थाइल्यान्डको अस्पतालमा पुर्याइएको थियो । घटनास्थलमा ३०० पुलिस अफिसर, ११ दमकल तथा केही संख्यामा हेलिकोप्टर पनि परिचालन गरिएका थिए । निराकरका बुबा विर्तामोड १ का वडाध्यक्ष छन् । हाम्फाल्नुअघि निराकारले आफ्ना नाबालक छोरासँग गरेको भीडिओ कुराकानी पनि समावेश गरिएको छ, जसलाई थुप्रैले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

निराकारले ९ वर्षिय छोरालाई सम्झाइबुझाइ गरिरहेका बेला उनी बसेकै स्थानमा धुवाँ फैलिसकेको भिडियोमा देखिन्छ । उनले निकै संयमित भएर छोरासँग संवाद गरेका छन ।

‘मैले जेजति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा । मैले सकिनँ । तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्,’ उनले आफ्नो छोरासँग भनेका छन् ।

भाइबर कलमा पाण्डेले छोरालाई यसरी सम्झाएका छन्ः

‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अलवेज लभ्स यू । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है । आर्मन इज द बेष्ट है सानु । अब सुन है । मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नु है । लमजुङ बुबा मामुलाई माया गर्नु सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा । अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनु । माइजुहरूलाई चित्त नदुखाउनु । उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले ।

लमजुङ बुबाआमाले पनि धेरै गर्नुभएको छ । है सानु तिमी धेरै ठूलो मान्छे बन्नु । ज्ञानी हुुनु । अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ । है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु । उसले मलाई दाजु भन्छ । उसलाई एकदम रेस्पेक्ट गर्नु, है बाबु ।

भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु । राम्रो मान्छे बन्नु । कसैलाई चिट गर्नुहुन्न छोरा । मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा । मैले सकिनँ । तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन् । सँधै शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानि कि मेरो साढु है, मेरो जेठान शान्ति शाली गोथ्ले, तिम्रो भाइ, आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, ज्ञानी बस्नू ।’

 

शुक्रबार​ १५ पुस २०७९ ०६:०१ PM मा प्रकाशित

प्रतिक्रिया