×

महानगरको विशेष सरसफाइ

images

 काठमाडौं महानगरपालिकाले छठ पर्व विशेष सरसफाई गरिरहेको छ । सूर्य उपासनासँग सम्बन्धित तराईमा धुमधामसँग मनाइने यो पर्व पछिल्ला वर्षहरुमा पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ ।

यससँगै काठमाडौँका कमलपोखरी, नागपोखरी, गौरीघाट गुह्येश्वरी, शंखमुल, टंकेश्वरी, बालाजुलगायतका स्थानमा श्रद्धालुहरु बेलुका अस्ताउँदो सूर्य र विहान उदाउँदो सूर्यको उपासनाका लागि जाने गरेका छन् ।

श्रद्धालुहरुको सहजताका र जलाशयहरुको स्वच्छताका लागि महानगरले विशेष सरसफाई गरेको वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईले दिइन् ।

‘हिजो हामीले कमलपोखरीबाट ४ ट्रक, टंकेश्वरीबाट २ ट्रक, गुह्येश्वरीबाट ४ ट्रक फोहोर संकलन गयौँ । यसका लागि जनशक्ति, साधन र उपकरण प्रयोग गरेका छौँ ।’ राईले भनिन्, ‘टंकेश्वरीमा नदी भित्रको फोहोर निकाल्न डोजर लैजाने प्रयास भइरहेको छ ।’

सरसफाइका लागि महानगर र निजी संघ संस्थाका सफाईकर्मीसँगै नगर प्रहरी, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु खटिएका छन् । यस क्रममा घाँस काट्ने, झार उखेल्ने, फोहोर संकलन गर्ने, ढुवानी गर्नेलगायत काम भइरहेका छन् ।

वातावरण तथा कृषि विभागले गरेको कामको निरीक्षणका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी कमलपोखरीलगायत स्थानमा गएका थिए ।

आइतबार​ १३ कात्तिक २०७९ ०१:१६ PM मा प्रकाशित

प्रतिक्रिया