×

सुदूरपश्चिममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

images

 

डोटी, १६ असार (रासस)ःडोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०–४० प्रतिशत, कैलाली र बाजुरामा ३५–३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको छ ।

यस प्रदेशमा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आए पनि असार १५ गतेसम्म प्रदेशका नौवटै जिल्लामा ४३ प्रतशित क्षेत्रमा मात्रै रोपाइँ सकिएको हो । प्रदेशका नौवटै जिल्लामा सिँचाइको सुविधा नभएकाले वर्षाको पानीले रोपाइँ गर्नुपर्ने बाध्यता छ । ढिलोगरी रोपाइँ सुरु भएकाले धान उत्पादन कम हुने चिन्ता गरिएको छ ।

उक्त निर्देशनालयका अनुसार यस वर्ष अन्य वर्षको तुलनामा समयमै वर्षा नभएका कारण धान रोपाइँमा ढिलाइ भएको हो । समयमै पानी नपरेका कारण यहाँका ५५ प्रतिशत खेत बाँझै रहेको निर्देशनालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिनुभयो । पछिल्लो केही दिनयता वर्षा हुन सुरु भएपछि रोपाइँ गर्ने प्रतिशत बढ्न थालेको जनाइएको छ ।

डोटीलगायत समग्र सुदूरपश्चिममा असार पहिलो साताबाटै रोपाइँ गरिने भए पनि आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका यहाँका किसान भने बल्ल धान रोपाइँको काममा लागेको शिखर नगरपालिका–२ का रामबहादुर दडीवानाले बताउनुभयो । उहाँले भन्नुभयो, “असार पहिलो सातादेखि जिल्लामा रोपाइँको निकै चटारो हुने गर्दथ्यो, ढिला वर्षा भएकाले बल्ल रोपाइँ सुरु भएको छ, अब यो वर्ष खेती पनि ढिलै पाक्छ होला ।

” जिल्लाको दिपायल, सिलगढी, कालागाढ, जोरायल, बिपीनगर, बर्छैन, बडिकेदार, बोगटान, पूर्वीचौकी, सायल, आदर्श, मौवा, गड्सेरालगायत क्षेत्रमा अहिले धान रोपाइँले किसानलाई भ्याइनभ्याई भएको किसानहरु बताउँछन् । सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका यहाँका धेरै किसान अहिलेसम्म पनि आकाशे पानीको भरमा रोपाइँ गर्ने गर्छन् ।

एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुने सुदूरपश्चिम प्रदेशमा कैलालीमा ७१ हजार ७०० हेक्टर, कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुने गरेको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकामा ३६ हजार ४८३ हेक्टर जग्गामा आङ्शिक सिँचाइको मात्रै सुविधा छ । यतिमात्रै नभई रासायनिक र डिएपी मल अभावले यहाँका किसानलाई झनै समस्या थपिएको छ । यस वर्ष यहाँका किसानले बिनामल रोपाइँ गर्न बाध्य भएको अर्का किसान बिक्रमबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलबिना रोपाइँ गर्न बाध्य भएका छौँ, यसरी गरिएको खेती के सप्रिएला र ?”, रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने रासायनिक मलको अभाव हुँदा यसपालि सीमापारि भारतीय क्षेत्रबाट लुुकीछिपीरूपमा कम गुणस्तरको रासायनिक मल ल्याएर रोपाइँ गर्नुपर्ने बाध्यता किसानसँग रहेको छ ।

बिहीबार १६ असार २०७९ ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया