बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का नवनियुक्त अध्यक्ष शीतल साहले जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । परिषद् अध्यक्षको रूपमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त अध्यक्ष साहले सबै पक्षसँग सहकार्य गरेर जनकपुरधामलाई धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउने बताउनुभयो । “जनकपुरधाम आफँैमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक नगर हो”, अध्यक्ष साहले भन्नुभयो, “यहाँका धार्मिक र सांस्कृतिस्थलको संरक्षण संवद्र्धन गर्दै जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नु मेरो मुख्य लक्ष्य हो ।
” यसैबीच नवनियुक्त अध्यक्ष साहले पदभार ग्रहण गरेलगत्तै वर्षाँैदेखि जीर्ण रहेको जनकपुरधामस्थित रामायण भवनलाई जीर्णाेद्वार गर्ने पहिलो निर्णय गर्नुभएको छ । धार्मिक र ऐतिहासिक भवन भए पनि उपेक्षाका कारण हालसम्म मर्मतसम्भार हुन नसक्दा जीर्ण बनेकाले यसलाई मर्मतसम्भार गरी जीर्णोद्वार गर्ने आफूले पहिलो निर्णय लिएको अध्यक्ष साहले बताउनुभयो ।
साहलाई नेपाल सरकारले बुधबार परिषद्को अध्यक्षमा नियुक्त गरेको थियो । गत विसं २०४९ मा स्थापना भएको सो परिषद्ले धनुषा र महोत्तरीको धार्मिक र पर्यटकीयस्थलको संरक्षण, संवद्र्धन तथा सौन्दर्यकरणको कार्य गर्दै आएको छ । यसका साथै मिथिला क्षेत्रमा प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रममालाई व्यवस्थित बनाउने र साथै पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यसमेत सो परिषद्ले गर्दै आएको जनाएको छ । परिषद्मा धनुषा र महोत्तरी जिल्लाका सांसद, नगरप्रमुख र प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख गरी ३२ सदस्य रहने व्यवस्था छ ।
प्रतिक्रिया