×

बाघलाई छोराछोरीजस्तै मान्ने ‘बाघ बा’

images

भरतपुर । पैँतालीस वर्ष मात्र पार गर्दै आएका आइतराम बोटेको जिउडाल, कपडा लवाइ, खवाइ हेर्दा लाग्छ उनी साठी कटिसकेको हुनुपर्छ । झुस्स दारी, पातलो शरीर, मसिनो बोलीका उनको नियमित काम हो जङ्गली जनावर, त्यसमा बाघको नियमित स्याहार सुसार गर्ने । यही कामले उनलाई धेरैले ‘बाघ बा’ भनेर चिन्छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत बोटेको बाघको स्याहार सुसार गर्नु जागिर नै हो । तर उनको अनुभव सन्तुष्टिसँग जोडिएको छ । “रोजगारी त भयो भयो बाघको स्याहार सुसार गर्नु आत्मसन्तोष पनि हो,” उनले भने, “पहिले त बाघ देख्ने बित्तिकै डर लाग्थ्यो । विस्तारै बानी परेपछि बाघको स्याहार सुसार सामान्यजस्तै लाग्छ ।”

२७ वर्षदेखि निकुञ्जमा कार्यरत बोटे २५ वर्षदेखि बाघकै स्याहार सुसार गर्छन् । अहिले बाघको आनीबानी सबै थाहा भएकाले पनि स्याहार सुसार गर्न सजिलो भएको उनको अनुभाव छ ।

विशेषतः घाइते वा नरभक्षी भएपछि उद्धार गरेर ल्याइएका बाघलाई उनले खोरमा राखेर स्याहार सुसार गर्छन् । अहिले पनि निकुञ्जको मुख्यालय नजिकै रहेको कसरामा तीनवटा यस्तै बाघ थुनेर पालिएका छन् ।

उनका अनुसार बाँकेबाघ बाँकेमा मान्छे खाएर नरभक्षी भएपछि ल्याइएको हो । नवलपरासीको पिप्रहाको सीतामाईमा घाइते अवस्थामा भेटिएको सीतेमाई पनि खोरमै छ । माडीको वसन्तपुर क्षेत्रमा मान्छे आक्रमण गरेको वसन्ती पनि थुनेरै पलिएको छ । बाघको नाम त्यसलाई नियन्त्रणमा लिएका ठाउँका आधारमा राख्ने गरिन्छ ।

तिनमा दुईवटा पोथी र एउटा भाले हुन् । यिनीहरूलाई छुट्टाछुट्टै खोर बनाएर राखिएको छ । बाँकेबाघले पाँच जनाको ज्यान लिएको थियो भने सीतेमाईले गाउँमा बस्ने घरपालुवा जनावर मारेर खान थालेपछि नियन्त्रणमा लिइएको हो । वसन्तीले दुई जनाको ज्यान लिएको छ । बाँकेलाई तीन वर्षअघि, वसन्तीलाई छ महिनाअघि र सीतेमाईलाई एक वर्षअघि ल्याइएको हो । बोटेले अहिलेका तीनसहित १२ वटा जिउँदा बाघको स्याहार सुसार गरेका छन् । तीमध्ये चारवटाको मृत्यु भइसकेको छ । पाँचवटालाई उपचारपछि निकुञ्जमै छाडिएको र बाँकी तीनवटा अहिलेका हुन् । गोरखापत्र दैनिकबाट

आइतबार​ १७ बैशाख २०८० ०६:५० AM मा प्रकाशित

प्रतिक्रिया