×

गृहमन्त्री लामिछानेको ४८ घण्टे निर्देशनपछि मापदण्ड विपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

images

काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालिएका छन् ।  कार्यविधिमा व्यवस्था भएभन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका हुन् । 

बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी/सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर गराइएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

 गृह मन्त्रालयले बुधवार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न निर्देशन दिएको थियो ।

गृह मन्त्रालयमा सह–सचिव र उप–सचिवहरूको कार्यालयमा सहयोगीको रूपमा प्रहरी परिचरहरू पनि खटिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही पूर्व मन्त्रीहरूका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)हरु पनि फिर्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ५ जना पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सहयोगीका रूपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ अनुसार पूर्व गृह मन्त्रीले १० वर्षसम्म २ जना पिएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन् । पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन् । राज्यमन्त्रीले पनि दुई वर्षसम्म पिएसओ पाउने व्यवस्था छ ।​  

बिहीबार १४ पुस २०७९ ०८:०९ PM मा प्रकाशित

प्रतिक्रिया