×

चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय गतिविधि (सफारी) मा रोक

images

काठमाडौं ।  चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी) मा रोक लगाएको छ।

वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स-साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो।

यससँगै डुङ्गा सञ्चालनजस्ता पर्यटकीय गतिविधिमा समेत रोक लगाइएको निकुञ्ज प्रशासनले जारी गरेको सूचनमा उल्लेख छ। अर्को सूचना जारी नहुँदासम्मका लागि सफारीमा रोक लगाइएको हो। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार सफारीका लागि ६५ जिपले अनुमति लिएका छन्।

सौराहाबाट ३२, कसराबाट १६ र मेघौलीबाट नौ जिपले अनुमति लिएको उनले जानकारी दिए। यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारीका लागि अनुमति लिएका छन्। डुङ्गा सञ्चालनका लागि तीन घाटमा ठेक्का लागेको उनले बताए। राप्ती नदीमा रहेका छ घाटमध्ये तीन घाटबाट मात्र डुङ्गा सफारी हुँदै आएको थियो।

वर्षात् सुरु भएसँगै निकुञ्ज र नदीमा हुने पर्यटकीय गतिविधिमा रोक लगाइएको हो। मध्यवर्ती सामुदायिक वनतर्फ हुने गतिविधिमा भने मध्यवर्ती व्यवस्थापन समितिले निर्णय गर्ने उनले जानकारी दिए। यस क्षेत्रका सामुदायिक वनमा हात्ती सफारी र डुङ्गा सफारी हुँदै आएको छ। निकुञ्जमा हालसम्मकै बढी पर्यटक यस वर्ष छिरेका थिए।

बिहीबार १४ असार २०८० ०२:४७ PM मा प्रकाशित

प्रतिक्रिया