×

महिला कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा वकिल अमिर लामिछाने पक्राउ

images

काठमाडौं। ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्।  बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेका हुन् । अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा बुधबार ४ः३० बजेको समयमा अधिवक्ता लामिछानेले तामाङमाथि हातपात गरेका थिए ।

मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि महिला कर्मचारी तामाङले मिसिल बाहिर लान मिल्दैन भन्दा उनीमाथि हातपात भएको हो । कानुन व्यवसायी लामिछानेको मुक्का प्रहारबाट ललितपुर जिल्ला अदालतका नायब सुब्बा प्रेमिका तामाङको दुईवटा दाँत हल्लिनुका साथै ओठमा चोट पुगेको छ ।

त्यसैगरी लामिछानेले महिला कर्मचारीलाई लछारपछार गर्दा तामाङको सरकारी पोसाकको बाहुलासमेत च्यातिएको छ ।  कुटपीटलगत्तै पीडित कर्मचारी प्रेमिका तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा कानुन व्यवसायीविरुद्ध जाहेरी दिएकी छिन् । मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ। तामाङको मुखमा चोट देखिएको छ।

ललितपुर प्रहरी परिसर प्रमुख सिद्धिविक्रम शाहले लामिछानेलाई पक्राउ गरिएको बताए। ‘लामिछानेले तामाङको फाँटमा पुगेर फाइल मागेर हेर्नु भएको रहेछ। तामाङले फोटो कपी गरेर हेर्नुस् भन्दा तँ तँ र मम भन्दै लामिछाने झम्टिएको र हातपात गरेको पीडितले आरोप लगाउनु भएको छ’, उनले भने।

शाहका अनुसार लामिछानेले फाइल तानातान हुँदा तामाङलाई आफै चोट लागेको प्रारम्भिक बयान दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पेश गरी उनीमाथि म्याद थप गर्ने तयारी रहेको प्रहरीले जनाएको छ। उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

बिहीबार १४ असार २०८० १२:४५ PM मा प्रकाशित

प्रतिक्रिया