×

नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा पुगे रवि लामिछाने

images

काठमाडौं ।  सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पुरा गर्न रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् । शुक्रबार सर्वोच्च  अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।  

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने भनेको थियो ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउनेवित्तिकै उनको पुन: नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।

रवि आउनुअगावै काठमाडौं प्रशासन परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो साथै प्रहरीको समेत बाक्लो उपस्थिति छ । लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय गरेको थिएन ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्। यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो। 

लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दल नेता थिए। यी सबै पदमा उनी अहिले छैनन्। लामिछानेले सर्वोच्चको आदेश स्वीकार गर्ने प्रतिक्रिया दिएका थिए। 

आइतबार​ १५ माघ २०७९ ११:५४ AM मा प्रकाशित

प्रतिक्रिया