×

नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्ने विरुद्ध प्रहरीमा उजुरी

images

काठमाडौं । बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने क्रममा नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्नेहरू विरुद्ध काठमाडौँ महानगरपालिकाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा अपराध अनुसन्धानका लागि पत्र पठाएको छ । 

 महानगर प्रहरीमाथि सांघातिक आक्रमणको नेतृत्व गर्ने तथा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाई कारबाहीका लागि काठमाडौंस्थित महानगरीय प्रहरी परिसर टेकुमा पत्राचार गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले धारिलो हतियार, ढुंगा, मुढासहितका सामग्री बोकेर आपराधिक मनसायले महानगर प्रहरी बलका प्रमुख सहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएको जारी विज्ञप्तिमा उल्लेख छ । आक्रमणबाट गम्भीर घाइते भएका नगर प्रहरी शर्मिला बोगटी सहित तीन जनाको आईसीयमा राखेर उपचार भइरहेको मान्धरले बताए । 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा सोमबार थापाथलीस्थित बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन महानगर टोली खटिएको थियो । सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरूले खुँडा जस्ता धारिलो हतियार, ढुङ्गा, मुढासहितका सामाग्री लिएर उपस्थित भई आपराधिक मनसायले एक्कासि आक्रमण गरेको महानगरको भनाई छ ।

 प्रवक्ता मानन्धरका अनुसार समितिको अनुरोधमा महानगर प्रहरी बलका प्रमुखसहितका नगर प्रहरीको टोली सुकुम्बासी बस्ती खाली गराउन पुग्दा आक्रमणमा परेको बताए ।


सोमबार १२ मंसिर २०७९ ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया