×

ललितानिवास जग्गा हिनामिना प्रकरण संलग्न १७ अभियुक्त थुनुवा पोसाकमै अदालतमा उपस्थित

images

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणका अभियुक्तको आजदेखि बयान लिइँदै छ । काठमाडौं जिल्ला अदालतमा बयान लिन लागिएको हो ।

इजलास नम्बर–१३ मा अभियुक्तको बयान लिइँदै छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा बयान लिइने अदालत प्रशासनले जानकारी गराएको छ । बयान लिनका लागि आवश्यक तयारी भइरहेको बताइएको छ ।

सो प्रकरणमा पक्राउ परेका मध्ये १७ अभियुक्तलाई अदालतमा उपस्थित गराइएको छ । उनीहरू थुनुवा पोसाकमा छन् । इजलास नम्बर–१४ को ‘वेटिङ रुम’ राखिएका उनीहरू बयान दिनका लागि तयारी अवस्थामा छन् । बयान लिइसक्न केही दिन लाग्न सक्नेछ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको थियो । मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।

जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जना थुनामा छन् । पहिलो चरणमा थुनामा रहेकासित बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ ।

१८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेसँगै सो प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह आइतबार साँझ रिहा भइसकेका छन् ।

सोमबार ११ भदौ २०८० ०२:२५ PM मा प्रकाशित

प्रतिक्रिया