रूपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न गृहमन्त्रालयसमक्ष सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले बताए ।
केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो । सीआईबी को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको थियो । केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रूपैयाँ नगदसमेत बरामद गरिएको सीआईबी स्रोतले बताएको छ ।
इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए । गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो। व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया