×

प्रचण्डका लागि जीवनमा कहिल्यै नपाएको अवसर छ : सूर्य थापा

images

काठमाडौं ।नेकपा (एमाले) का नवनिर्वाचित सांसद तथा प्रभावशाली नेता सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको बालकोटको बार्दलीबाट हात हल्लाएपछि नयाँ ढंगले सहकार्यको सुरुवात भएको टिप्पणी गरेका छन् ।

थापाले राजनीतिमा असम्भव लागेको कुरा पनि सम्भव हुने भन्दै अहिलेको संसद्को गणितले नै सरकार गठनको लागि गठबन्धनको माग गरेको स्पष्ट पारे । उनले आफू चुनावअघिको गठबन्धनको विरोधी भएको पनि सुनाए ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले भने,‘हिजो प्रचण्ड कमरेडको नेतृत्वमा सरकार बनेको छ, ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ। सर्वप्रथम म बधाई भन्न चाहन्छु । म नेपाली जनताको स्थिरता, स्थात्यिव र समृद्धिको आकांक्षामा अलिक दिगो रुपमा काम गर्ने अपेक्षा राख्छु ।

सरकार कसरी बन्यो ? भन्ने सन्दर्भमा मेरो आफ्नो विश्लेषणछ । चुनावअघि गठबन्धन गरेर जाने कुरा अनैतिक र गलत हो । चुनावपछिको गठबन्धन बाध्यात्मक र स्वभाविक हो । म गठबन्धनविरुद्ध लडेको हुँ । राजनीतिमा नै हो सबै कुरा सम्भव हुने । गणितमा २ मा २ जोड्दा ४ हुन्छ । राजनीतिमा जे पनि हुन्छ । असम्भव लागेका कुरा पनि राजनीतिमा सम्भव हुन्छ ।’

उनले नेपालको संविधानबमोजिम भएको दोस्रो आवधिक निर्वाचनपछिको प्रतिनिधिसभाको संरचनाले नै अहिलेको सरकार बनेको बताए । उनले भने,‘हामीले चाहेर यस्तो भएको होईन । यो २०५१ सालको संसद्जस्तै भयो । हंक पार्लियामेन्टजस्तै रिजल्ट आयो । सरकार बनाउनको लागि ७६ (२) मा जानैपर्दथ्यो । सरकारमा सबै दल हुनुहुन्छ । यो सरकार राष्ट्रपतिबाट तोकिएकै समयमा बनेको छ । संवैधानिक र कानूनी प्रक्रियाबाट बनेको छ ।’

उनले मुलुकका स्थायी राजनीति शक्ति भनेका ठूला दल नेपाली कांग्रेस र एमाले नै भएको चित्रण गरे । उनले भेन,‘यी दुई दल ००७ सालदेखि सँगसँगै छन् । संकट आउँदापनि आस्था बनेर अघि बढेका छन् । को सरकारमा हुन्छ ? को प्रतिपक्षमा हुन्छ ? भनेर होईन, मैले त एमाले र प्रचण्ड मिल्नु हुन्न भनेको थिएँ ।

देउवा चाहीँ चितवनको गैंडाजस्तो सञ्चो भएर बस्नुभयो । एमाले र कांग्रेसबीच सहकार्यको कुरा पनि भएको थियो । तर, हाम्रा कुराले देउवा दाइलाई केही छोएन । प्रचण्ड र मेरो व्यक्तिगत दुश्मनी छैन् । पार्टी एकतादेखि विघटनसम्म पुग्दा म उहाँविरुद्ध लडेको हो । ओलीलाई चार वटा ठाउँबाट निकाल्नुभयो ।’

उनले आफूहरु राजनीतिमा आग्रह र पूर्वाग्रहमा नचल्ने पनि दाबी गरे । उनले भने,‘यही मंसिर ४ गतेको निर्वाचनमा म प्युठानबाट जितेर आएँ, प्रचण्डले १२ पटक प्युठानका एक जनालाई फोन गरेर मलाई हराउनुपर्छ भन्नुभयो । बालकोटको बार्दलीमै गएर प्रचण्डले हात हल्लाएपछि कुरा मिल्यो । अब मिलेर देश बनाऔं ।

बेथितिको पहाड फालौं । उहाँ ६८ वर्ष हुनुभयो, यो त जीवनमा कहिल्यै पनि नपाएको अवसर हो । अब २ वर्ष दत्तचित्त भएर काम गर्नुपर्छ ।’ उनले आफू मन्त्री बन्नेबारे चर्चा चलेकोप्रति टिप्पणी गर्दै भने,‘म पार्टीले जिम्मा दिएको काम पूरा गर्छु ।

म मन्त्री हुने वा नहुने कुरा प्रधान होईन ।’ उनले एमाले र माओवादीबीच अब पार्टी एकता नहुने पनि जिकिर गरे । उनले भने,‘अब पार्टी एकता हुँदैन् । झुक्किएर पनि पार्टी एकता हुन दिन्नौं । विगतमा पार्टी कब्जा गर्ने अभ्यासबाट शिक्षा लिएका छौं । आजको स्थितिमा सम्भव छैन् । एकता हुने भयो भनेपनि बहसको माग हुन्छ ।’

उनले विदेशी शक्तिले नेपालमा गैरकम्युनिष्ट शक्ति बनाउने र कम्युनिष्टहरुलाई जिल्याएर सडकमा राख्ने कोशिश गरेका थिए भन्ने खुलासा गरे । उनले भने,‘हामीले पनि विभिन्न एजेन्सीका रिपोर्ट हेरेका थियौं । प्रचण्डले पनि चुनावअघि नै कांग्रेसलाई ६० भन्दा तल झार्नुपर्छ भन्ने भेउ पाउनुभयो ।’

मङ्गलबार १२ पुस २०७९ ०८:२१ PM मा प्रकाशित

प्रतिक्रिया