काठमाडौं । सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ ।
सोमबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेषगरी राहदानी र सवारी चालक अनुमतिपत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा भएका निर्णयका बारेमा जानकारी दिँदै प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिए ।
प्रधानमन्त्रीले भने,“राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामालामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ । त्यसलाई समयभित्रै नियन्त्रण गर्नेगरी प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेका छौँ ।”
नागरिकले सास्ती नपाऊन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उनले जानकारी दिए । उनका अनुसार बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ । देशमा रहेका समस्या समाधानमा केन्द्रित हुने गरी सङ्कल्प गरेको समेत प्रधानमन्त्री दाहालले जानकारी दिए।
प्रधानमन्त्री दाहालले केही नयाँ गरौँ भन्ने सङ्कल्पका साथ आफूहरू एक ठाउँमा उभिएको बताए । आफ्नो नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशा जागेको उनको भनाइ छ । उनले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट जस्तो निर्णय आएको छ, त्यसलाई अहिलेको मन्त्रिपरिषद् समेटेको उल्लेख गरे ।
प्रधानमन्त्रीले भने,“हाम्रा अगाडि जटिलता र चुनौतीहरू छन् । जनतामा आशा र भरोसा बढेको देखिएको छ । केही नयाँ गरिछाड्नेहरूको सङ्कल्प भएकाको केन्द्रीकरण भएको छ । त्यसकारण पनि काम गर्न मलाई सहज लागेको छ ।” उनले मुलुकको अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, जनतामा सुशासनको प्रत्याभूति गराउने र सेवा प्रवाहमा केन्द्रीत हुने गरी पहिलो बैठकमा छलफल भएको बताए ।
प्रतिक्रिया