×

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज जवाफ दिने

images

काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

बैठकको सुरुमा वार्षिक  नीति तथा कार्यक्रममाथि छलफल हुने र त्यसपछि प्रधानमन्त्री दाहालले जवाफ दिनु हुनेछ । त्यसपछि नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गरिने छ ।

शुक्रबार नै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची भएपनि नेकपा (एमाले)को अवरोधपछि बैठक बस्न सकेको थिएन।

शुक्रबार बिहान ११ बजेको लागि बोलाइएको बैठकमा एमालेले रोष्ट्रम घेरेपछि २० मिनेटको लागि स्थगित भएको थियो। स्थगित बैठक ३ बजे बस्ने सूचना जारी गरियो  ३ बजे पनि बैठक बस्न नसकेपछि साझ ६ बजे बैठकका लागि बोलाइएको थियो।

साँझ ६ बजे पनि बैठक बस्न नसकेपछि आज बेलुका ४ बजेसम्मका लागि बैठक स्थगित भएको थियो। गत बुधबार माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधिसभाको बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीका नाममा पित्तल लगाएको अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले शुक्रबार बैठक अवरुद्ध गरेको हो। बैठक आज दिउँसो ४ बस्ने तय भएको छ ।

शनिबार १३ जेठ २०८० ०९:४९ AM मा प्रकाशित

प्रतिक्रिया