×

रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने

images

रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो ।

पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन् । पोल्यान्डको सरकारी स्वामित्वको पीजीएनआइजीले रुसी ग्यास उद्योग कम्पनी गाजप्रोमले आपूर्ति बन्द गरेको जनाएको छ । तर, तत्काल भण्डार आवश्यक नभएको र आफ्नो ग्यास भण्डारण ७६ प्रतिशत रहेको पोल्यान्डले प्रष्ट पारेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  ‘शत्रु’ देशहरूलाई ग्यास आयातको लागि रुबलमा भुक्तानी गर्न आह्वान गरेका छन् । सोही बमोजिम केही खरीदकर्ताहरूले रुबलमा रुसी ग्यासको भुक्तानी पनि गरेको जनाइएको छ । 

क्रेमलिनको कट्टर विरोधी पोल्यान्ड आफ्नो छिमेकी युक्रेनलाई हमला गरेपछि रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाउने  युरोपेली देशहरूमध्ये एक हो ।

रूसी ग्यास आयातमा लगभग पूर्ण रूपमा निर्भर रहेको बुल्गेरियाले गाजप्रोमसँग आफ्ना सबै दायित्वहरू पूरा गरेको र प्रस्तावित नयाँ भुक्तानी योजनाले सम्झौता उल्लंघन गरेको गुनासो गरेको छ । उसले टर्की र ग्रिसबाट ग्यास निर्यात गर्न छलफलसमेत गरेको छ ।

बुधबार १४ बैशाख २०७९ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया