×

सर्वोच्च अदालतद्वारा सन्दीपलाई क्रिकेट खेल्न विदेश जान पनि अनुमति

images

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो । सर्वोच्चको आदेशमा सन्दीपले अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र नेपाल आई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ। उनी यसरी अदालतमा उपस्थित नभएमा विदेश जान दिइएको सुविधा खारेज हुने आदेशमा उल्लेख छ।

उनले २० लाख रुपैयाँ धरौटी राख्नु पर्ने उच्च अदालत पाटनको आदेश भने सर्वोच्चले कायम राखेको छ। 

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो। 

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। 

सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो। 

सोमबार १५ फागुन २०७९ ०६:२३ PM मा प्रकाशित

प्रतिक्रिया