×

एसईई नतिजा भोलि सार्वजनिक हुँदै

images

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ ।

यस पटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ । 

नतिजा सार्वजनिक भएको एक/दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्नेछ । यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयले  यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको  थियो । परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

मङ्गलबार १० साउन २०७९ ०१:०२ PM मा प्रकाशित

प्रतिक्रिया