×

राष्ट्रपति भण्डारी लगायतका भीभीआईपी वसन्त श्रवणमा सहभागी

images

काठमाडौं । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा हरेक वर्ष आयोजना हुने वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०:४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण मनाइएको हो ।

राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायतका उच्च पदाधिकारीहरु हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् । सरस्वती पूजाको अवसरमा राष्ट्रपतिले बसन्तपुर पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै हुदै आएको पाइन्छ ।

सोही परम्पराअनुसार नासलचोक पुग्नुभएकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरेको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरेकी छन् । वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकोमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको हो ।

वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ । वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ । वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु शुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरुपले नै नयाँ रुप लिने विश्वास रही आएको छ । 

बिहीबार १२ माघ २०७९ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया