काठमाडौं। सत्ता गठबन्धनको ‘निर्णायक बैठक’ बालुाटारमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ। त्यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीको पहिलो कार्यकालको टुंगो लगाउन बैठक सुरु भएको हो।
सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्ने निर्णयका लागि पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्व छलफलमा जुटेका हुन्। गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेस र माओवादी केन्द्रले आन्तरिक छलफल गरेका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार विहान पदाधिकारीसँग छलफल गरेका थिए।
उता कांग्रेसभित्र राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्न दबाव बढ्दै गएपछि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले शीर्ष नेतासँग छलफल गरेका थिए। यसअघि शनिबार साँझको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यालमा आफ्नो अडान कायमै राखेका थिए।
उनले कांग्रेसले राष्ट्रपति लिएर आफुलाई प्रधानमन्त्री दिनुपर्ने प्रस्ताव बैठकमा राखेका थिए।‘अध्यक्षज्युले गठबन्धनकोतर्फबाट डेढ वर्ष कांग्रेसले नेतृत्व गरिसकेकाले अब माओवादीलाई नेतृत्व गर्न दिनुपर्ने अडान कायमै राख्नुभयो,’ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने।
प्रचण्डले अडान कायमै राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई प्रधानमन्त्री दिन पार्टी तयार नभएको जवाफ दिएका थिए।‘तपाइँलाई प्रधानमन्त्री दिन साथीहरू तयार भएनन्। पार्टीभित्र पनि छलफल गर्नुपर्यो नि। अहिलेनै माओवादीलाई दिनुहुन्न भन्ने कुरा छ,’देउवाले प्रचण्डलाई भनेका थिए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकालमा आफ्नो दाबी कुनैपनि हालतमा नछोड्ने पक्षमा छन्। कांग्रेस तयार नभए एमालेसँग छलफल गर्ने उनको तयारी छ। यो सन्देश उनले शनिबार साँझको बैठकमा पनि दिएका छन्।
शनिबारको बैठकमा सरकारको नेतृत्व २ वर्ष कांग्रेस, २ वर्ष माओवादी केन्द्र र १ वर्ष एकीकृत समाजवादीले गर्ने अनौपचारिक सहमति पनि भएको छ। ष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज अपरान्ह पाँच बजे सकिँदैछ। त्यसअघि नै सहमतिमा पुग्ने गरी सत्ता गठबन्धनबीच छलफल भइरहको छ। तर प्रधानमन्त्रीको पहिलो कार्यकाल कसले लिने भन्ने विषयमा सहमति जुटन् सकेको छैन। सोही विषयमा छलफल गर्न अहिले बालुवाटारमा गठबन्धनको ‘निर्णायक बैठक’ बसिरहेको छ।
प्रतिक्रिया