×

युक्रेनको रेलवे स्टेशनमा आक्रमण : २२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

images

काठमाडौं । रुसी सेनाले युक्रेनको रेल वे स्टेशनमा रकेट प्रहार गर्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ । आक्रमणबाट ५० जना घाइते भएका छन् । युक्रेनको स्वतन्त्रता दिवस र युक्रेनमाथि आक्रमणको ६ महिना पुगेको दिन रुसी सेनाले दिप्रो पत्रोभस्की क्षेत्रको च्यापलिन रेलवे स्टेशनमा रकेट प्रहार गरेको हो । 

मृत्यु हुनेहरूमा ११ वर्षीय बालक समेत रहेको जनाइएको छ । पाँच जनाको घटनास्थलमै जलेर मृत्यु भएको र अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी रकेट प्रहारबाट रेलका पाँच वटा डिब्बामा आगो लागेको र हताहती हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

आफूले राष्ट्रसंघीय सुरक्षा परिषद बैठकलाई सम्बोधन गर्ने तयारी गरिरहेको बेला रुसले रकेट हमला गरेको जेलेस्कीले बताएका छन् । यता, युद्धका क्रममा निहत्था सर्वसाधारणलाई निशाना नबनाएको दाबी गर्दै आएको रुसले यो आक्रमणबारे पनि कुनै टिप्पणी गरेको छैन ।

बिहीबार ९ भदौ २०७९ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया