×

प्रदेशका प्रमुख गुरूङद्वारा गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

images

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दावी पेस गर्न मंगलबार आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले ३ दिनको समय दिएको छ ।

६० प्रदेशसभा सदस्यमा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्दछ । गण्डकीमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७, सभामुखसहित माओवादीको ८, एमालेको २२, राप्रपाको २ सिट र स्वतन्त्र सांसदको सहभागिता रहेको छ । 

पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी सरकारबाट केन्द्रमा सत्ता समीकरण फेरिसँगै चैत १० गते माओवादीले समर्थन फिर्ता लिएको थियो ।

१ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औं दिनमा मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मतको प्रस्ताव गरेका थिए ।  संविधानको धारा १३८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन्।

गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो। विश्वासको मत नपाएपछि मुख्यमन्त्रीबाट अधिकारी पदमुक्त भएका थिए।

अब गठबन्धनबाट सरकार बन्ने सम्भावना छ। मुख्यमन्त्रीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गरेका छन्। कांग्रेस संसदीय दल नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री हुने सम्भावना छ।

मङ्गलबार १२ बैशाख २०८० ०२:२५ PM मा प्रकाशित

प्रतिक्रिया