"दाईहरुले कति कमाईसके।ठाउँ ठाउँमा के के जोडीसके।त भने, थुक्क ग्वाजे।"थुकेरै बोले बाउले।
पिरो भयो, उसको मन। "जे भने, भन्नुस् बा, म त गैरकानुनी काम गर्दिन।"हल्का दबेको स्वरमा भन्यो।
"खुब इमान्दार बन्ने भा'छस्।मैँले कमाएको यही सम्पत्ति छँदैछ भनेर होला।पाउन्नस एक टुक्रो पनि।"
"हुन्छ नदिनु। दुई छाक खान र एक सरो लाउन त, मेरै कमाईले पुग्छ।"
अंशबन्डाको लागि बैठक बस्यो।
"मेरो सम्पत्ति त मेरो आफ्नै कमाई हो।छुदा पनि छुन्न।बरु बाउको सम्पत्ति चाहिन्छ, त्यो पैत्रिक हो"। भन्यो जेठो दाईले।
"हो त नि, मैँले किनेका ठाउँ ठाउँका घडेरी पनि आफ्नै कमाई हो।"भन्यो माइलो दाईले।
भयो बाँडफाँड।चोक तिरका राम्रा राम्रा घडेरी दुई भाईले राखे।कान्छालाई खोलाको किनारको खेत दिए, जहाँ पसिरहन्थ्यो बाढी।बाउ तिर हेर्यो।मलिन देख्यो।भन्यो "बा तपाईंलाई त्यही पनि दिन मन छैन भने, भो चाहिदैन मलाई।"
भक्कानिदै भने "त्यसो नभन छोरा।रिस उठेको बेला जति गाली गरेपनि मन भित्र त माया छ नि।बरु लड दाईहरु सँग राम्रो घडेरी चाहिन्छ भन्दै"।
प्रतिक्रिया