×

राष्ट्रपति निर्वाचन : आज मनोनयन दर्ता

images

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रपति पदको यो तेस्रो निर्वाचन हो ।  यसअघि निर्वाचन आयोगले हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको थियो । 

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा मनोनयन दर्ता हुनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले अहिले बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उम्मेदवारी दर्ता हुने जनाएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची शनिबार प्रकाशन गरिने जानकारी दिए।

राष्ट्रपति पदमा उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार सङ्घीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति राष्ट्रपति पदमा उम्मेदवारी दिन पाउनेछन् । तर निर्वाचित र मनोनयनद्वारा पूर्ति हुने पदमा बहाल रहेका व्यक्ति उम्मेदवार हुन पाउनेछन् ।

राष्ट्रपति पदमा मनोनयन दर्ता गर्दा पाँच जना प्रस्तावक र पाँच जना समर्थक हुनुपर्नेछ । राष्ट्रपतिको निर्वाचनमा निर्वाचन अधिकृतले जारी गरेको मतदाता नामावलीमा नाम भएको व्यक्ति प्रस्तावक र समर्थक हुनुपर्नेछ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाबमोजिम फागुन १४ गते आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ ।

उम्मेदवारविरुद्ध परेको उजुरीउपर छानबिन गरी फागुन १५ गते सोमबार निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गरी निर्णय गर्नेछन् । फागुन १६ गते मङ्गलबार उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।  राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

शनिबार १३ फागुन २०७९ ०९:१८ AM मा प्रकाशित

प्रतिक्रिया