×

१ अर्ब ९६ करोडको हिरा, बालिकाले फोहोरको थुप्रोमा भेटिन

images

विश्वको सबैभन्दा ठूलो कलर्ड हिराको डिसेम्बरमा लिलामी हुँदैछ । न्युयोर्कमा हुने लिलामीमा सोदबी नामको अक्सन हाउसले यो हिराबाट १५ मिलियन डलर (१ अर्ब ९६ करोड रुपैयाँ) पाउने अनुमान छ । नाशपातीको आकारको यो हिरा विश्वको सबैभन्दा ठूलो पोलिस्ड हिरा हो । यो हिराको नाम गोल्डन केनरी हो र यसको तौल ३०३.१० क्यारेट हो ।

अक्सनका लागि यो हिराको बेस प्राइस एक डलर मात्रै राखिएको छ । यसका लागि कुने पनि रिजर्भ मूल्य छैन । त्यसैले हिराको मूल्य कम्तीमा १५ मिलियन डलरसम्म पुग्नसक्छ ।

यो हिराको इतिहास रोचक छ

यो हिराको इतिहास निकै रोचक छ । बिजनेस टुडेको वेबसाइटमा छापिएको खबर अनुसार सन् १९८० को दशकको सुरुवातमा डेमोक्रेटिक रिपब्लिक कंगोमा एक बालिकाले आफ्नो काको आँगनमा खेलिरहेका बेला फोहोरको थुप्रोमा भेटेकी थिइन् । त्यतिबेला राज्यको स्वामित्व भएको हिरा खानी एमआइबीएका उत्खननकर्ताले यसलाई धेरै भारी र ठूलो भएका कारण फ्याँकेका थिए ।

उत्खननकर्ताले फोहोर ठानेका थिए

उत्खननकर्तालाई थाहै थिएन कि फोहोर ठानिएको यो वस्तु खासमा ९८० क्यारेटको कच्चा हिरा हुनसक्छ । बालिकाले उक्त हिरा भेटेपछि यसलाई आफ्नो काकालाई दिइन् । उनले यसलाई एक स्थानीय हिरा व्यापारीलाई बेचेका थिए ।

हिरालाई पहिलो पटक सन् १९८४ मा अमेरिकामा स्मिथसोनियन नेशनल म्युजियम अफ नेचुरल हिस्ट्रीमा मानिसहरुको अगाडि पेश गरेका थिए । लगभग पाँच वर्षमा कच्चा हिरालाई १५ फिनिस्ड स्टोनमा काटियो ।

यसमा सबैभन्दा ठूलो फेन्सी गहिरो खैरो–पहेँलो रङको हिराको तौल ४०७.४९ क्यारेट थियो । त्यसपछि यसको रङ र आकारमा सुधार गरियो । यतिबेला यसको तौल कम भयो । यो हिराको फाइनल आकारलाई ‘द गोल्डन केनरी’ नाम दिइयो । पहेँलो रङको हिरा अन्त्यन्त दुलर्भ हो, जुन उत्खनन गरिएका सबै हिराको ०.००६ प्रतिशत छ ।

सोमबार ७ कात्तिक २०७९ ०७:०२ PM मा प्रकाशित

प्रतिक्रिया