सप्तरी, १० वैशाख ः जैनधर्ममा विशेष धार्मिक महत्व रहेको अक्षय तृतीया पर्वका दिन आइतबार सप्तरीको राजविराजमा वर्षीतपस्वीहरुलाई आहारग्रहण गराएर ब्रत अनुमोदन गरिएको छ ।
जैन श्वेतांबर तेरापंथी सभामा समणी निर्देशिका डा. निर्वाण प्रज्ञाजी एवम् समणी मध्यस्थ प्रज्ञाजीको सानिध्यता र सञ्चारकर्मी तथा अधिकारकर्मी मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वर्षी तप पारायणका साथै पर्वका बारेमा विशेष व्याख्यानको आयोजना भयो ।
डा. निर्वाण प्रज्ञाजीले महात्वाकांक्षा बढेमा हिंसा वृद्धि हुने भएकोले सबैलाई असल कर्मबाट जागृत रहन आग्रह गर्नुभयो । धार्मिक क्रिया, असल कर्म र तपस्याले मन शान्त, विचार पवित्र र भाव शुद्धिकरण हुने उहाँले बताउनु भयो । धार्मिक एवं स्वास्थ्यका दृष्टिले समेत महत्वपूर्ण रहेको ब्रत संयमपूर्ण जीवनयापनमा सहयोगी हुने उहाँको दावी थियो । जैन धर्म अनुसार प्रथम तीर्थंकर भगवान ऋषभदेव आदिनाथले तपस्या गरेपछि आफ्नो पनाती श्रेयांसको हातबाट अक्षय तृतीयाकै दिन १३ महिनापछि इक्षुरस (उखुको रस) ग्रहण गरेर ब्रतको पारायण गर्नुभएको थियो । कात्तिक कृष्ण पक्षको अष्टमीबाट आरम्भ भई वैशाख शुक्लपक्षको अक्षय तृतीयाका दिन पारायण गरेर ब्रत सम्पन्न गरिन्छ । यसमा जैन धर्मावलम्बीले हरेक महिनाको चौदसको उपवास राख्नु पर्ने हुन्छ । जसमा तातो पानी मात्र सेवन गर्नुपर्ने हुन्छ ।
सनातन धर्म र जैन धर्ममा अक्षय तृतीयाको महत्वबारे दर्शाउँदै प्रमुख अतिथि पोखरेलले आहार दान गर्नेलाई कहिले नरित्तिने अक्षय पुण्य प्राप्त भएको शास्त्रीय सन्देशले दान गर्न उर्जा मिल्ने गरेको बताउनु भयो । भोकोलाई भोजन, तिर्खाएकोलाई पानी, संकटमा परेकालाई सहयोग गर्नु जस्तो पुण्य कार्य गर्न र दयाभाव राख्न अक्षय तृतीयाले हामीलाई प्रेरणा दिने गरेको बताउनु भयो ।
तीन वर्षदेखि वर्षीतप गरिरहनुभएकी समणी मध्यस्थ प्रज्ञाजी, नौ वर्षदेखि वर्षीतप गरिरहनु भएकी सुनसरी इनरुवाकी सबिताजी र पहिलो पटक वर्षीतप सुरु गर्नुभएकी इनरुवाकै कुसुमजीलाई डा. निर्वाण प्रज्ञाजी, तेरापंथ, सभा, महिला मण्डललगायतले उखुको रस ग्रहण गराउनुका साथै विभिन्न उपहार प्रदान गर्नुभयो ।
जैन स्वेताम्बर तेरापंथी भवन निर्माणको रजत महोत्सव समेत परेको अवसरमा सभाले प्रमुख अतिथि इन्सेक प्रतिनिधि मनोहर पोखरेल, सप्तरीकी दोस्रो महिला शिक्षक मञ्जु श्रेष्ठ, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, लायन्स क्लबका प्रथम डिस्ट्रिक गर्भनर शंकर शारदा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, एकल महिला समूहकी प्रदेश अध्यक्ष अनिता देवकोटालाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
प्रमुख अतिथि, विशेष अतिथीहरुलाई सभाका अध्यक्ष सागर दुगड, विजयलता सिंघी, फुसराज दुगड, प्रदिप तातेड, कमला भन्साली, सुनिता तातेड, जगत भन्साली, रेखा बैद्यलगायतले दोसल्ला र टिका लगाएर सम्मान गर्नुभयो । तेरापंथी भवन निर्माणको रजत महोत्सवकै अवसरमा भवनको जग्गादाता मनसुखीदेबी चौडरियाकी बुहारी लक्ष्मीदेबी चौडरियालाई सम्मान गरियो ।
कार्यक्रममा महिला मण्डलकी सल्लाहकार कमला भन्साली, सुनसरी इनरुवाकी मनोज बागमार, मधु जैन, कमल मणहोतलगायतले अक्षय तृतीयाको महत्वबारे प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभयो । जैन धर्म, वर्षीतप र अक्षय तृतीयाको महत्वबारे जानकारी दिदै महिला, बालबालिकाले गीत, नृत्य र लघुनाटक प्रस्तुत गर्नुभएको थियो ।
तेरापंथ सभा, महिला मण्डल र युवक परिषद् राजविराजको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता तेरापंथ सभाका अध्यक्ष सागर दुगडले गर्नुभएको थियो । नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले सञ्चालन गर्नुभएको कार्यक्रममा धन्यवाद सभाका सचिव मनिष दुगडले गर्नुभयो ।
जैन र हिन्दू धर्ममा अत्यन्त शुभ दिन मानिने अक्षय तृतीयाका दिन हिन्दु धर्मावलम्बीले समेत जौको सातु र सर्वतसहितको जलपात्र दान गर्ने र ग्रहण गर्ने गर्दछन् । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ ।
जैन धर्मका प्रथम तीर्थंकर आदिनाथ ऋषभदेवजीको १३ महीने कठीन उपवासको पारणको दिन मानिने अक्षया तृतीयाकै दिनबाट त्रेता युगको आरम्भ भएको मानिन्छ । हिन्दू धर्मअनुसार परशुरामको जन्म, नर–नारायणको अवतार, ब्रह्माजीका पुत्र अक्षय कुमारको जन्म, सुदामा कृष्ण मिलन, कुबेरलाई खजाना प्राप्त भएको, गंगा अवतरण भएको, महाभारतको युद्ध समाप्त भएको, वेद व्यास र गणेशले महाभारत ग्रन्थ लेख्न थालेको, आदि शंकराचार्यले कनकधारा स्तोत्रको रचना गर्नुभएको दिन अक्षय तृतीया रहेको मान्यता छ ।
ज्योतिषशास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन पञ्चांग नहेरी पनि शुभकार्य गर्न सकिन्छ । शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो । विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ । यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो । त्यसैले यस दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुने विश्वास छ । यसकारण यो तिथिलाई धानधर्मका लागि अचुक काल मानिएको छ ।
अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ । पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ । सबै बाह्र महिनाका शुक्ल पक्षीय तृतीया शुभ छन् तर बैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्तहरूमा मानिन्छ । भविष्य पुराण अनुसार यस तिथिको युगादि तिथिहरूमा गणना हुन्छ, सत्य युग र त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको थियो ।
प्रतिक्रिया