×

क्रिकेट रङ्गशाला निर्माण सरकारको दायित्व : अध्यक्ष प्रचण्ड

images

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा काम रोकिएको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला सरकारको दायित्वभित्र आउन लागेको बताउनुभएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आजदेखि यहाँ सुरु गरेको दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब रङ्गशाला सरकार र राज्यको दायित्वभित्र जाँदैछ । मैले आफ्नो ठाउँबाट अघि बढाउनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” 

धुर्मुश–सुन्तली फाउण्डेशन पछि हटेपछि रङ्गशालाको काम रोकिएको छ । अध्यक्ष दाहालले अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान बनाउन आवश्यक भएको बताउनुभयो । जिल्लामा अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउन सम्बन्धित मन्त्रालयलाई बजेटको व्यवस्था गर्नका लागि पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, केन्द्रीय सदस्य पेमा लामालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । प्रतियोगितामा तीन विभागीयसहित आठ टोली सहभागी छन् ।

प्रतियोगिताअन्तर्गत पहिलो चरणका खेल यही चैत ३० गतेसम्म सञ्चालन हुनेछन् । दोस्रो चरणका खेल मोरङको विराटनगरमा हुनेछन् । प्रतियोगिताको विजेताले रु २० लाख, दोस्रो हुनेले रु १० लाख, तेस्रो हुनेले रु पाँच लाख तथा चौथो हुने टोलीले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् ।

बिहीबार १० चैत २०७८ ११:३६ PM मा प्रकाशित

प्रतिक्रिया