देशभर बढ्यो चिसो

    images

    काठमाडौं । सधैंँजसो काठमाडौँका अधिकांश स्थानमा बिहान ७ः३० बजेसम्म घाम झलमल्ल भइसक्थ्यो। बिहीबार बिहान भने घाम लागेन। घाम निस्केपछि निस्कन्छु भनेर प्रतीक्षा गर्नेको धैर्यको बाँध टुट्यो तर पनि घाम देखिएन।

    हिउँदे यामका दिन अघि बढ्दै गर्दा चिसो बढ्ने अनुमान सबैले नगरेका होइनन् तर बुधबारसम्मको सामान्य चिसो बिहीबार एक्कासि अत्यधिक चिसो दिनमा बदलिन्छ भन्ने कसैले पनि सोचेका थिएनन्।

    हिउँदको मध्यतिर प्रवेश गर्दै गर्दा यस्तो दिन हरेक वर्ष आउने र यसपालि पनि त्यस्तै भएको मौसमविद् प्रतिभा मानन्धरले बताए।

    मौसमविद् मानन्धरका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा बढ्दै गर्दा त्यो समयमा मध्य र पूर्वी पहाडी भेगले छोएका क्षेत्रको दृश्य सादृश्यता (भिजिबिलिटी) १५ सय मिटरमा सीमित बनेको थियो। हवाई उडान हुन कम्तीमा दुई किलोमिटरको सादृश्यता आवश्यक पर्छ। ९ बजेपछि मौसममा सुधार आएकाले हवाई उडानका लागि काठमाडौँमा वातावरण बनेको उनले जानकारी दिए।

    कतिपय स्थानमा बिहान ८ः४५ बजेसम्म निकै कम सादृश्यता रह्यो। नेपालगञ्ज र भैरहवामा सबैभन्दा कम ५० मिटर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै जनकपुर र विराटनगरमा १०० मिटर र सिमरा र धनगढीमा २०० मिटर कम थियो।

    करिब ११ बजेपछि बल्ल आकाश खुलेर घाम देखिन थालेपछि बल्ल आम नागरिकले एक्कासि बढेको चिसोबाट राहत महसुस गरेका थिए। नत्र घाम नलाग्नेमै ध्यान केन्द्रित थियो।

    नेपालको कृषि र मानवजीवन मौसमी चक्रमा अत्यधिक निर्भर रहने भएकाले पनि घाम लाग्नु वा नलाग्नुले ठूलो महत्व राख्छ। हिउँदे खेती थालेका किसानका लागि त बदलिँदो मौसमको ज्ञान हुनु अत्यावश्यक मानिन्छ। बिहीबारको जस्तो अनायासै हुने मौसम परिवर्तनले खेती किसानीमा ठूलो क्षति ल्याउन सक्ने अनुमान कृषि मौसमविज्ञ रामेश्वर रिमाल बताउन्छन्। गोरखापत्र दैनिकबाट

    शुक्रबार​ ८ पुस २०७९ ०८:५० AM मा प्रकाशित

    प्रतिक्रिया