×

पाकिस्तानमाथि भारतको नाटकीय जित

images

मेलबर्न । भारतले ट्वान्टी ट्वान्टी विश्वकप सुपर–१२ ग्रुप–टुमा आइतबार पाकिस्तानमाथि सनसनीपूर्ण र नाटकीय चार विकेटको जित निकालेको छ । जितका लागि १ सय ६० रन पछ्याएको भारतले अन्तिम बलमा चार विकेट गुमाएर विजयी रन बनाएको हो । रविचन्द्रन आश्विनले विजयी रन प्रहार गरे ।

भारतको जितका नायक भने विराट कोहली रहे र उनी नै ‘प्लेयर अफ द म्याच’ भए । उनले हारको संघारमा रहेको भारतलाई जित दिलाए । उनले ५३ बलमा ८२ रन जोडे । उनले छ चौका र चार छक्का प्रहार गरे । भारतलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । त्यस अगाडि अन्तिम दोस्रो ओभरमा जितका लागि ३१ रन चाहिएको थियो ।

कोहलीले पान्ड्यासँग चौथो विकेटका लागि १ सय १३ रनको साझेदारी गरे र यससँगै भारत खेलमा फर्केको हो । पान्ड्याले ३७ बलमा ४० रन बनाए । टस जितेर भारतले पहिले बलिङको निर्णय गरेको थियो र त्यसक्रममा पाकिस्तानले आठ विकेटमा १ सय ५९ रन बनाएको थियो । पाकिस्तानका लागि सन मसुदले ५२ र इफटिखर अहमदले ५१ रन बनाए ।

त्यस अगाडि श्रीलंकाले सुपर–१२ को ग्रुप–वानमा आयरल्यान्डमाथि सजिलो नौ विकेटको जित आत्मसात् गरेको थियो । जितका लागि १ सय २९ रनको लक्ष्य पाएको श्रीलंकाले एक विकेट मात्र गुमाएर १५ ओभरमा १ सय ३३ रन बनायो । श्रीलंकाली जितमा कप्तान तथा प्रारम्भिक ब्याटर कुशल मेन्डिसले ४३ बलमा ६८ रन बनाए । आयरल्यान्डले पहिले ब्याटिङले आठ विकेटमा १ सय २८ रन बनाएको थियो । 
 

आइतबार​ ६ कात्तिक २०७९ ०८:१६ PM मा प्रकाशित

प्रतिक्रिया