×

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ

images

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् ।

गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।  सी जिनपिङ पार्टीको महासचिवमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् । 

एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उनी अब माओत्सेतुङको बराबर भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि  कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेनन् । महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ ।

महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका  ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन छन् । अवकाश लिएका लि खछ्याङ प्रधानमन्त्री समेत हुन् भने वाङ याङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् । त्यस्तै ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन् भने भने हान झेन उपप्रधानमन्त्री हुन् । 

पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भने, ‘ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद।’ उनले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढने बताए ।

आइतबार​ ६ कात्तिक २०७९ ११:०८ AM मा प्रकाशित

प्रतिक्रिया