×

पानी नपर्दा तापक्रम वृद्धि, गर्मी बढ्यो

images

तापक्रम बढ्दा देशभर गर्मी बढेको छ । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ । पानी नपर्दा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै बढेको छ । यसले गर्दा गर्मी बढाएको छ ।

हिजो दीपायल र भैरहवाको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस, धनगढीको ३५ दशमलव १, सिमराको ३५,  विराटनगरको ३४ दशमलव ९ डिग्री सेल्सियस, धरानको ३४ दशमलव ४, नेपालगञ्जको ३४ दशमलव ६ र वीरेन्द्रनगरको ३३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै,  बिहान ६ बजेको मापन अनुसार काठमाण्डौको न्यूनतम तापक्रम  २० दशमलव ४ डिग्री सेल्सियस छ । हिजो १९ र अस्ति १८ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम लगातारजसो बढिरहेकाले पनि बिहानैदेखि गर्मी महसुस भएको छ ।

यस्तै, आज काठमाण्डौको अधिकतम तापक्रम भने केही घट्न सक्ने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम २९ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । हिजो ३० दशमलव ८ डिग्री सेल्सियस थियो भने अस्ति ३० दशमलव ७ डिग्री सेल्सियस थियो ।

आज दिउँसो पछि  बादल लाग्ने सम्भावना रहेकाले अधिकतम तापक्रम केही घट्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि ठूलो पानी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा दिउँसोपछि हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ । 

मङ्गलबार ७ भदौ २०७९ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया