×

रुस–युक्रेन युद्ध : ९ हजार युक्रेनी सेना र ५५ सय बढी सर्वसाधारणको मृत्यु

images

काठमाडौं । रुस र युक्रेनबीच भएको युद्धमा हालसम्म ९ हजार युक्रेनी सेनाको मृत्यु भएको युक्रेनले जनाएको छ । युक्रेनी सेनाका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युक्रेनका ९ हजार सैनिकको मृत्यु भएको घोषणा गरेका हुन् । 

उनले मृत्यु हुने सैनिकका छोराछोरीको हेरचाह अति आवश्यक भएको बताएका छन् । रुसले भने युद्धको पहिलो महिना १३ सय ५१ रुसी सेनाको मृत्यु भएको बताएको छ । रुसले थप विवरण सार्वजनिक भने गरेको छैन् । अमेरिकी सैन्य अधिकारीहरुले भने रुसी सेनातर्फ ७० देखि ८० हजार सैनिकमा क्षति पुगेको दावी गरेको छ । 

यसैगरी संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसी आक्रमणका क्रममा ५५ सय बढी सर्वसाधारण नागरिकको मृत्यु भएको जनाएको छ । साथै ७८ सय बढी नागरिक घाइते भएको राष्ट्रसंघले अनुमान गरेको छ । 

संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले ९ सय ७२ युक्रेनी बालबालिका युद्धको शिकार भएको पुष्टि गरेको छ । रुस–युक्रेनबीच जारी युद्ध सातौं महिनामा प्रवेश गरेको छ ।

मङ्गलबार ७ भदौ २०७९ ०२:०४ PM मा प्रकाशित

प्रतिक्रिया