×

छैटौँ पटक प्रम बन्ने तयारीमा देउवा

images

काठमाडौं, पुस ७ । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।
संसदीय दलको नेतामा निर्वाचित भएपछि सभापति देउवाले पार्टीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


उनले भने, “निर्वाचन समिति र पार्टीका साथीहरूलाई मलाई विजयी गराउनुभएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। अब नेपाली कांग्रेसलाई सुदृढ रूपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यावधानमुक्त राख्नेछु। सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद”

कलिलो उमेरमै राजनीतिक आन्दोलनमा होमिएका प्रधानमन्त्री देउवाको जीवन धेरै उतारचढावपूर्ण छ। लोकतान्त्रिक आन्दोलनमा जेलनेल भोगेका उनी सन्तुलित र समन्वयकारी राजनीतिज्ञका रूपमा परिचित छन्। प्रधानमन्त्री देउवा संसदीय राजनीतिका एक सफल नेतासँगै अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा सफल राजनीतिज्ञ हुन। मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उनी सुदूरपश्चिम प्रदेशको डडेल्धुराबाट निर्वाचित भएका थिए।

प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा झन्डै १० वर्ष जेल जीवन बिताएका देउवा छैटौँ पटक संसदीय दलमा निर्वाचित भएर प्रधानमन्त्री बन्ने तयारीमा छन्। उनी २०४८, २०५१ र २०५६ को प्रतिनिधि सभा, २०६४ र २०७० को संविधान सभा (कञ्चनपुरसहित) र २०७४ मा प्रतिनिधि सभा सदस्यमा डडेल्धुराबाट निर्वाचित भए।

२०४८ सालमा सांसद निर्वाचित भएर गृहमन्त्री बनेका देउवाले त्यसपछि पटक–पटक प्रधानमन्त्री पदको जिम्मेवारी सम्हाल्दै आएका छन् । गोरखापत्र दैनिकबाट

बिहीबार ७ पुस २०७९ ०८:४२ AM मा प्रकाशित

प्रतिक्रिया