सर्वनाममा समय : 'दुई युगको संवाद' मञ्चन 

    images

    काठमाडौं । हामी प्राय विगत र भविष्यको चिन्ता गर्छौ तर वर्तमानमा बाँच्न बिर्सिन्छौ । यस्तै र यस्तै प्रश्न र उत्तरको खोजि गर्दैै काठमाडौंको कालिकास्थानमा अवस्थित सर्वनाम थिएटरमा नाटक “समय : दुई युगको संवाद“ मञ्चन सुरु भएको छ । सर्वनामकै १८ औं ब्याचका प्रशिक्षार्थी समूहको प्रस्तुति र निर्देशनमा तयार पारिएको नाटकको लेखन १८ औं ब्याचका प्रशिक्षार्थी सुजता पन्तले लेखेकी हुन् । नाटकमा पुरानो युग र नयाँ युगबिचको संवादलाई देखाउन खोजिएको छ । नाटकको सुरुवातमा घडीको सुईको छकछक छकछक आवाज बजिरहन्छ र पृष्ठभुमीमा महिलाको आवाज आउँछ– “म समय हुँ, म तिम्रो भुत हुँ, म तिम्रो वर्तमान पनि हुँ र तिम्रो भविष्य पनि हुँ । “ लामो हाँसो पश्चात् विश्वभर फैलिएको कोरोना महामारीको समयलाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको छ ।

    नाटकमा सन २०२० र १९४० विचको संवाद देखाउन खोजिएको छ । यो संवादमा गान्धी, हिटलर, चार्ली र आइन्स्टाइन उपस्थित हुन्छन् र आ–आफ्नो तर्क प्रस्तुत गर्छन् । नयाँ युगमा भने एक टेलिभिजन कार्यक्रममा वैज्ञानिक, नेता, साधु र ज्योतिषबिचमा बहस चलिरहन्छ । यो युगको सबैभन्दा बलवान् समय हो । समयअनुसार र सोही समयमा घटेका घटना मार्फत नै हामीले सही र गलत ठम्याउँछौं । यो नाटकले त्यही मियोलाई समाएर वर्तमानको महत्वलाई दर्शाउने प्रयत्न गरेको छ । इतिहासका महान् पात्र र तिनले गरेका कामहरुबाट वर्तमानलाई चिहाउने प्रयत्न यो नाटकले गरेको छ । प्राय हामी भूत र भविष्यको चिन्तामा वर्तमानमा बाँच्न बिर्सिन्छौँ, वर्तमान राम्रो भयो भने भुत र भविष्य आफै उत्कृष्ट हुनसक्छ भन्ने नाटकको मूलसार हो ।

    सर्वनामले रंगमञ्च र यसप्रति रुचि भएकाहरुलाई प्रशिक्षण दिदै आएको छ । सर्वनामका संस्थापक तथा निर्देशक अशेष मल्लले ‘नेपाली रंगमञ्चमा कुनैपनि रंगकर्मी बन्न चाहेका कलाकारहरुलाई मञ्च अभावको कारण आफू बन्चित हुन नपरोस भन्ने हेतुका कारण यो प्रशिक्षण निरन्तर चलाएको बताए ।’ उनले ‘नेपाली रंगमञ्चमा मौलिक कथा, लेखक र निर्देशक पनि जन्मिउन भन्ने आफ्नो चाहना रहेको बताउदै यो नाटक मार्फत नेपाली रंगमञ्चमा एउटा ईटा थपिएको बताए ।’ 

    सर्वनामको तीन महिने बन्द प्रशिक्षण र करिब २ महिनाको तयारी पश्चात् निर्माण गरिएको नाटकको मञ्चमा अमन श्रेष्ठ, अञ्जना गर्तौला, उत्सव पौडेल, गौरव केसी, तिलक भण्डारी, बसन्त बहादुर खड्का, भुवन सापकोटा, मिलन शाक्य, युवराज थापा मगर, राम दाहाल, सञ्जु तामाङ, सुजता पन्त र सुवास वस्याल रहेका छन् । प्रकाश परिकल्पना पाश्लाक्पाको रहेको छ भने प्रकाश परिचालन निरज पन्थीले गरेका छन् । नाटकमा संगित परिचालन मनोज महर्जनले गरेका छन् र संगित संयोजन कृपेश घिमिरे र मोहन अभिलाषीले गरेका हुन् । बिहिवार बाहेक हरेकदिन साँझ ५ः१५ र शनिबार अतिरिक्त शो दिउँसो १ बजे प्रदर्शन हुने नाटक समय दुई युगको संवाद असोज ८ गतेसम्म निरन्तर मञ्चन हुनेछ ।
     

      बिहीबार ६ असोज २०७९ १२:०६ PM मा प्रकाशित

      प्रतिक्रिया