×

भारतीय फिल्म चल्न दिन्नँ, अदालत र सरकार भारतको गुलाम - मेयर बालेन शाह

images

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, बिहीबार शाहले आफ्नो फेसबुकमा लेखेका छन् । उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अदालतले आदेश दिएको केहीबेरमा नै सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले भारतीय फिल्मको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार हुने बताएका छन् । उनले अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको आरोपसमेत लगाएका छन् । विवादित फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएपछि शाहले काठमाडौँ महानगरभित्र हिन्दी फिल्म सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए ।

सो निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको अवस्थामा शाहले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ’, उनले भनेका छन् । 

यसको लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘फिल्म चल्दैन र चल्न दिइनेछैन ।’ 

बिहीबार ७ असार २०८० ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया