×

नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी प्रभाव बढ्यो : नारायणमान बिजुक्छेँ

images

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ । भक्तपुर नगरपालिकाको बाह्रौँ नगरसभाको आज उद्घाटन गर्दै उहाँले नेपालमा दलको सत्ता मोहले जनताले दुःख पाइरहेको बताउनुभयो । देशको भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र जस्ता विषयबारे नेतादेखि विद्यार्थीलाई जानकार गराउनुपर्ने उहाँको भनाइ थियो । 

अध्यक्ष बिजुक्छेँले ख्वप विश्वविद्यालय सञ्चालनले देशभरिका विद्यार्थी लाभान्वित हुने उल्लेख गर्दै मेडिकल माफियाको चलखेलका कारण भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको सम्बन्धन नपाएको बताउनुभयो । 

कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सरकारको बजेट जनमुखी नभई पूँजीपति वर्गको हितमा रहेको जिकिर गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आव २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर र नगरवासीको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्ने र विश्वविद्यालय सञ्चालन गर्न विज्ञ टोलीसमेत गठन गरी आवश्यक तयारी गर्ने, ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गर्ने, अनलाइनबाट कर तिर्ने र नक्सापासको प्रक्रिया अगाडि बढाइने योजना रहेको बताउनुभयो । 
    
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँ, प्रदेशसभा सदस्य सिर्जना सैँजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशीलगायतले नगरपालिकाले नगरवासीका लागि सहज सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

बुधबार ८ असार २०७९ १०:०३ PM मा प्रकाशित

प्रतिक्रिया