×

अर्घाखाँचीमा छोरी कम जन्मिए

images

अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५२० र छोरी ४९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क शाखाका बसन्त पोख्रेलले जानकारी दिनुभयो । पछिल्ला दुई वर्षको तथ्याङ्क हेर्दा पनि जन्मिएका छोरीको सङ्ख्या कम छ । गएको वर्ष अर्थात् २०७७/७८ मा ७५२ छोरा र ६२१ छोरी जन्मिएका छन् । 

विसं २०७६/७७ मा कूल एक हजार ३४० बच्चा जन्मिएकामा ६२२ छोरी र ७१८ छोरा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयलगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सुविधा छ । मानिस अवैधानिक रुपमा जिल्ला बाहिर जानेर र भ्रुण जाँच गरी गर्भपतन गर्ने बढिरहेका बताइएको छ । 


जिल्लामा गत साउनदेखि यता फागुन मसान्तसम्म ४७७ ले स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन सेवा लिएका छन् । गएको वर्ष २०७७/७८ मा ६५७ र आर्थिक वर्ष २०७६/७७ मा ६५३ जनाले सूचीकृत स्वास्थ्य संस्थामा गई गर्भपतन सेवा लिएको जनाइएको छ । 

सन्धिखर्क नगरपालिकासहित जिल्लाभर छोराको तुलनामा छोरी कम जन्मन थालेपछि छोरी जन्माउने परिवारमा उत्साह थप्न नगरपालिकाले नगर प्रमुख खुत्रुके बचत योजना सुरु गरेको छ । नगरपालिकाले छोरीको खातामा रु तीन हजार जम्मा गर्न सुरु गरेपछि स्थानीय बालिकाका अभिभावक पनि खुसी भएका छन् । 

अवैधानिक रुपमा भु्रण जाँच गरी छोरा भए राख्ने छोरी भए गर्भपतन गर्ने बढेपछि छोरी जन्मिए उनीहरुको खातामा नगरपालिकाले रु तीन हजार राखिदिने भएको हो । सन्धिखर्क नगरपालिकाका स्थायी बासिन्दा भई स्वास्थ्य संस्थामा  आर्थिक वर्षको साउनदेखियता जन्मिएका छोरीहरुको निःशुल्क खाता खोली त्यो खातामा रकम जम्मा गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । 

सो नगरपालिकामा गत आर्थिक वर्ष २०७७/७८ मा ५९८ बालबालिका जन्मिएका छन् । जन्मिएका बालबालिकामध्ये २९१ बालक र २६७ बालिका रहेर्को  नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताउनुभयो । 

आइतबार​ ८ जेठ २०७९ १२:०६ PM मा प्रकाशित

प्रतिक्रिया