देशको रक्षा र स्थायित्वका लागि कांग्रेससँग सहकार्य : नेता गुरुङ

    images

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का  स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले देश र संविधानको रक्षा तथा स्थायित्वका लागि माओवादीले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढेको बताउनुभएको छ ।

    पोखरामा आजदेखि सुरु भएको माओवादी केन्द्र गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उहाँले कांग्रेससँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र सङ्घीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, “माओवादीको पहल कदमीमा कांग्रेस सहितका शक्तिसँग मिलेर प्राप्त उपलब्धिको रक्षाका लागि अहिलेको गठबन्धन बनेको हो ।” नेपालमा स्थिरता र स्थायित्व कायम गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको नेता गुरुङको भनाइ थियो । 
        
    आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा लोकतन्त्रको रक्षाका लागि माओवादीले जित्नैपर्ने उल्लेख गर्दै नेता गुरुङले भन्नुभयो, “माओवादीले जितेन भने देशको संविधान र सङ्घीयता धरापमा पर्छ ।

    अहिलेको सबै खालको परिवर्तन माओवादीको एजेण्डा भएकाले यसको रक्षाका लागि माओवादीले जित्नुको विकल्प छैन ।” आगामी स्थानीय तहको निर्वाचनमा माओवादी अरुसँगको तालमेलमा भर पर्न नहुने उहाँको भनाइ थियो । 

    मङ्गलबार ८ चैत २०७८ १०:२९ PM मा प्रकाशित

    प्रतिक्रिया