ट्याक्सी चालक र राइडरको रुपमा युएई र कतार जान रोक 

    images

    काठमाडौं । वैदेशिक रोजगार विभागले, युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ। विभागले सूचना प्रकाशित गरी वैदेशिक रोजगारीका क्रममा युएई र कतारमा राईडर तथा ट्याक्सी चालक पदका लागि जान रोक लगाएको हो । 

    अर्को निर्णय नभएसम्म सो पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
    युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेकोले पूर्वस्वीकृति रोक्ने निर्णय गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेकाले तत्कालका लागि श्रम पूर्वस्वीकृति रोक्ने निर्णय गरिएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए । 

    सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले यो निर्णय लिइएको उनको भनाई छ । 
     

    बुधबार १० फागुन २०७९ १२:२९ PM मा प्रकाशित

    प्रतिक्रिया