×

एउटा जित हारले फरक पारेको वेस्ट ह्याम र एभरटनको स्थिति

images


लन्डन । लिग फुटबलमा एउटै जित हारले कति फरक पार्छ, त्यसको राम्रो उदाहरण इंग्लिस प्रिमियर लिगमा शनिबार देखियो । वेस्ट ह्यामले  एभरटनलाई २–० ले हराएको छ र यो जितपछि वेस्ट ह्यामले राहत महसुस गरेको छ । तीन महिनायता वेस्ट ह्यामको यो पहिलो जित हो र यसले व्यवस्थापक डेविड मोयसको भविष्य केही हदसम्म सुरक्षित भएको छ ।
खेलका दुवै गोल जरोड बोवेनले पहिलो हाफमा गरे । हारले एभरटनका व्यवस्थापक फ्रायन्क लाम्पार्ड भने दबाबमा परे र उनी कुनै पनि बेला बर्खास्तीमा पर्न सक्नेछन् । लाम्पार्ड आफैले पनि अब आफू मानसिक रूपमा त्यस्तो स्थितिका लागि तयार भएको पनि बताइसके । यो जितपछि वेस्ट ह्यामको १८ अंक भएको छ र १५ औं स्थानमा उक्लेको छ । एभरटन भने १५ अंकमा १९ औं स्थानमा रह्यो ।
शनिबारका अन्य खेलमा एस्टन भिल्लाले पुछारमा रहेको साउथह्याम्पटनलाई १–० ले हरायो । यस्तै क्रिस्टल प्यालेस र न्युकासलले गोरहित बराबरी खेले भने लेस्टर र ब्राइटनबीच २–२, बर्नमाउथ र नटिङघम फरेस्टबीच १–१ तथा लिभरपुल र चेल्सीबीच गोलरहित खेल भएको थियो । अर्कोतर्फ इटालीका सिरी ए को शीर्ष स्थानमा रहेको नेपोलीले शनिबार सालेरनिटानालाई २–० ले हराएको छ ।
नेपोलीका लागि जियोभानी डि लोरेन्जो र भिक्टर ओसिमहेनले गोल गरे । यो जितपछि नेपोलीले लिग तालिकाको शीर्ष स्थानमा डिफेन्डिङ च्याम्पियन एसी मिलानमाथि १२ अंकको फराकिलो अग्रता लिएको छ । अब कुनै नाटकीय जित हारको शृंखला चलेन भने नेपोलीले लिग जित्ने लगभग तय भएको छ । 

आइतबार​ ८ माघ २०७९ ०२:०७ PM मा प्रकाशित

प्रतिक्रिया