काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सुरु भएको छ । सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा मतदान सुरु भएको हो । तर मतदान गर्ने स्थानसम्म मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला सुरु भएको हो । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि झण्डै एकघण्टा ढिलो गरी मतदान सुरु भएकाे हाे ।
पहिलो भोट सभापति शेरबहादुर देउवाले हालेका छन् । यस्तै दोस्रो भोट महामन्त्री गगन थापाले हाले । अहिले प्राय: सबै सांसदहरू दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र सहित उपस्थित भइसकेका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । सांसद्हरु मतदानका लागि सिंहदरबार पुग्ने क्रम जारी छ । कांग्रेस संसदीय दलको कार्यालय बाहिर सुरक्षा कडा बनाइएको छ। सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।
यसै गरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ।
प्रतिक्रिया