×

मृत्यु भइसकेका १ सय ९९ जनालाई पुनः जिवित पार्न लिक्विङ नाइट्रोजनको सहारा

images

काठमाडौं - अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा केही मानिसका लागि समय र मृत्यु रोकिएको छ किनभने उनीहरुको शरीर र दिमागलाई तरल नाइट्रोजनमा राखिएको छ । भविष्यमा पुनः जिउँदो बनाउने उद्देश्य राखिएको छ । यो प्रोजेक्ट अलकोर लाइफ एक्सटेन्सन फाउन्डेसनले ल्याएको हो ।

अलकोर फाउन्डेशनका मुख्य कार्यकारी अधिकारी म्याक्स मोरले यो प्रोजेक्टको उद्देश्य अरु नै केही भएको बताएका छन् । उनले भने, ‘यो पुनः जिउँदो हुनका लागि मात्रै होइन । अहिले जुन रोगको उपचार छैन, त्यो रोगको उपचार गराउनका लागि आफूलाई भविष्यमा फिर्ता ल्याउनेछन् । १९९ जनामध्ये धेरैजसो यस्तो घातक रोगसँग जुधिरहेका छन् जसको आज उपचार सम्भव छैन । जस्तै ः क्यान्सर, एएलएस वा असाध्यै दुर्लभ रोग । यो भविष्यलाई हेर्दै गरिएको एउटा प्रयोग हो । यसको सफलताको सही अन्दाज त्यतिबेला लाग्नेछ जब यीमध्ये कुनै एक व्यक्तिलाई बाहिर निकालेर उपचार गरिनेछ । उनीहरुको रोगको उपचार हुनेछ । यस्तो गर्न सकियो भने यो एउटा ठूलो उपलब्धि हुनेछ ।’

 

१ सय ९९ जनाको सूचीमा सबैभन्दा सानी थाइल्याण्डकी बालिका छिन् । उनी ९ वर्षकी माथेरिन नाओवरतपान्ग हुन् । उनलाई ब्रेन क्यान्सर छ । उनका आमा–बुवा दुबै डाक्टर हुन् । माथेरिनको धेरैपटक शल्यक्रिया भइसकेको छ । तर केहीले काम गरेन । उनको मृत्यु भइसकेको छ । त्यसैले उनीहरुले अलकोर फाउन्डेसनसँग सम्पर्क गरे । यो सूचीमा बिटकोइनका विशेषज्ञ हाल फिनी पनि समावेश छन् । सन् २०१४ मा उनको मृत्यु एएलएस (स्नायु सम्बन्धि रोग) का कारण भएको थियो । त्यतिबेलादेखि उनको शरीर लिक्विड नाइट्रोजन ट्याङ्कमा सुरक्षित राखिएको छ । यो प्रक्रियालाई क्रायोप्रिजर्वेशन भनिन्छ ।

 

कहिले सुरु हुन्छ क्रायोप्रिजर्वेशनको प्रक्रिया ?

क्रायोप्रिजर्वेशनको प्रक्रिया मानिसलाई आधिकारिक र कानुनी रुपमा मृत घोषित गरेपछि सुरु हुन्छ । त्यसपछि मानिसको शरीरबाट रगत र अन्य तरल पदार्थ निकालिन्छ । उनलाई एक विशेष खालको रसायनबाट भरिन्छ ता कि शरीरभित्र बरफ र क्रिस्टल्स नबनोस् । त्यसपछि शरीरलाई निश्चित चिसो तापक्रममा लिक्विड नाइट्रोजनको ट्याङ्कमा राखिन्छ । अलकोर फाउन्डेशनको ग्राहकको शव एरिजोनाको स्कट्सडेलमा रहेको फ्यासिलिटीमा राखिएको छ ।

 

शरीर सुरक्षित राख्नका लागि तिर्नुपर्नेछ यति रकम

म्याक्स मोरका अनुसार अलकोर फाउन्डेशनका हालसम्म १४ सय जिउँदो सदस्य छन् । उनीहरुले भविष्यमा आफ्नो शरीरलाई सुरक्षित राख्नका लागि पैसा दिएका छन् । शरीरलाई ट्याङ्कमा राख्नका लागि कम्तीमा २ लाख डलर (२ करोड ६४ लाख रुपैयाँ) दिनु पर्नेछ । यदि तपाईंले आफ्नो दिमाग मात्रै सुरक्षित राख्नु छ भने तपाईंले ८० हजार डलर तिर्नुपर्नेछ ।

भविष्यमा आफ्ना नयाँ पुस्तालाई भेट्न सक्नेछन्

म्याक्स मोरकी श्रीमती नताशा विता मोरले यो भविष्यको यात्रा गर्ने एक तरिका बन्न सक्ने बताउँछिन् । भविष्यमा तपाईंको शरीरबाट रोग वा घाउ निकै सजिलै ठिक हुन सक्नेछन् । त्यतिबेलासम्म मानिसको नयाँ बडी क्लोनिङ भइसकेको हुनेछ । पूरा शरीर प्रोस्थेटिक भइसकेको हुनेछ । वा उनीहरुको शरीरलाई पुनः रिएनिमेट गर्न सकिनेछ । उनीहरु आफ्ना साथीहरु, अर्को पीढि र आफन्तलाई पुनः भेट्न सक्नेछन् ।

केही विशेषज्ञ सहमत छैनन् : भन्छन्, ‘यो गलत हो’

न्युयोर्क युनिभर्सिटीका ग्रसम्यान स्कुल अफ मेडिसिन विभागमा मेडिकल एथिक्स डिभिजनका प्रमुख आर्थर क्यापलेन यो प्रविधिसँग थुप्रै स्वास्थ्यकर्मी सहमत नभएको बताउँछन् । उनी भन्छन्, ‘शरीरलाई फ्रिज गर्ने कुरा खासै सही होइन । यो एउटा साइन्स फिक्सन जस्तो हो । भविष्यको प्रविधिको विषयमा केही गरिरहेका वा गर्ने प्रयासमा भएका मानिस मात्रै यसमा खुसी छन् । यस्तो गर्नका लागि उनीहरुले तपाईंसँग पैसा लिइरहेका छन् ।’

 

शुक्रबार​ ४ कात्तिक २०७९ ११:४६ AM मा प्रकाशित

प्रतिक्रिया