×

नागपञ्चमी : चाँगुनारायणसँगै विभिन्न मन्दिरमा मेला, नाग  पोखरीमा दूधको अभिषेक

images


भक्तपुर, ४ भदौ  : नागपञ्चमीमा विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक एवं धार्मिक महत्वको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ । हरेक वर्षको नागपञ्चमीमा जस्तै मन्दिरमा आज दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो । 
    
साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यु, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दुःख नदिने, धनधान्य हुने धार्मिक विश्वास रहेको उहाँको भनाइ छ । स्थानीयवासीले आजको दिन चाँगुनारायण मन्दिरबाट फर्किएर आ–आफ्नो घरको मूल ढोकामा गाईको गोबरले नाग टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा छ ।

    त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायणको मन्दिर र वाखुपति नारायणको मन्दिरमा पनि मेला लागेको छ । यहाँका दुवै मन्दिरमा भक्तपुर, थिमि, काभ्रे, बनेपा, पनौती लगायतका स्थानबाट दर्शनार्थीहरु आएका छन् । आजको दिन तिलमाधव नारायण र बाखुपति नारायणको पूजा गरी दर्शन गरेमा पुण्य प्राप्त हुने, मनोकाक्षा पूरा हुने र घरमा सर्पले दुःख नदिने जनविश्वास रहेको छ । 

त्यसैगरी भक्तपुरको नाग पोखरीमा नागको पूजा गरी दूधको अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन मेला यस पोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेक गरी भव्य रुपमा पूजा गरेर स्थानीयवासीले मेला भरेका छन् । 

आजका दिन घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दुःख नहुने, प्रसन्न हुने र वर्षभरि  विषालु जीव, आगो र चट्याङको भय नहुने विश्वास रहदै आएको छ ।
---

सोमबार ४ भदौ २०८० ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया