×

राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण : अध्यक्ष यादव

images


जनता समाजवादी पार्टी , नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

    सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उदघाटनमा उहाँले नेपालमात्रै नभई संसारभर ठूला–ठूला परिवर्तनमा कानुन व्यवसायीको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्नुभयो । अध्यक्ष यादवले सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै मुलुकको न्याय प्रणाली निष्पक्ष र स्वतन्त्र बनाइनुपर्नेमा जोड दिनुभयो । 

    उहाँले सङ्घीयताको वास्तविक कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक भएको दाबी समेत गर्नुभयो । पार्टीलाई विधि र बौद्धिक दिशा दिनेतर्फ लैजान सङ्घले भूमिका खेल्नुपर्ने भन्दै अध्यक्ष यादवले न्यायालय समावेशी हुनुपर्ने माग गर्नुभयो । 

    सो अवसरमा पूर्वमन्त्री एवं जसपाका कार्यकारिणी सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले कानुन व्यवसायीको दायित्व निर्वाह गर्दै स्वतन्त्र र निष्पक्ष न्यायालायको पक्षमा वकालत गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 
    
    सङ्घका अध्यक्ष दीपक राईले कानुन व्यवसायीको हकहितको साथै स्वतन्त्र र पारदर्शी न्यायालयको पक्षमा खबरदारी गर्न संस्थाले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । दुई दिनसम्म चलने सम्मेलनले नयाँ कार्यसमितिका लागि नेतृत्व चयन गर्नेछ ।

 

शुक्रबार​ ५ साउन २०८० ०३:५५ PM मा प्रकाशित

प्रतिक्रिया