×

सन्दीपको ओडिआईमा कीर्तिमान, बने छिटो १०० विकेट लिने खेलाडी

images

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार ओमानसँग भएको खेलमा नेपाल विजयी भएको छ।

टस हारेर पहिला ब्याटिङ्‍को निम्तो पाएको नेपालले ओमानलाई ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाउँदै ३ सय १० रन जोडेको थियो।

जवाफी ब्याटिङ्‍मा उत्रेको ओमानले ४६.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय २६ रन मात्र जोड्न सक्यो।

नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। कुल १०८ रन बनाएका उनले ६९ बलमै शतक बनाएका हुन्।

आफ्नो एकदिवसीय करियरकै पहिलो शतक प्रहार गरेका उनी नेपालका लागि एकदिवासीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। शतक हान्ने क्रममा उनले ९ चौका र १० छक्का प्रहार गरे।

यस्तै सोमपाल कामीले पनि उत्कृष्ट ब्याटिङ गर्दै ६३ रनको योगदान गरे। ४८ बल खेलेका उनले ९ चौका प्रहार गरे। भीम सार्कीले ३३ रन बनाउँदा आरिफ शेख र करण केसीले समान २९ रन जोडे।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३१० रनको विशाल योगफल तयार पारेको थियो।

ओमानका लागि मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाए। सन्दीप गौडले ४६ रन बनाउँदा ओपनर कक्षेप प्रजापतिले २५ रन जोडे।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए। आजको खेलमा विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो।

रसिदले ४४ खेलबाट सय विकेट लिएका थिए। सन्दीपले भने ४२ खेलबाटै सय विकेट लिँदै कीर्तिमान बनाएका हुन्।

अब नेपाल अर्को खेल वैशाख ११ गते साउदी अरबसँग खेल्ने छ। खेल मुलपानी क्रिकेट मैदानमा हुने छ।

 

 

शुक्रबार​ ८ बैशाख २०८० ०९:१९ PM मा प्रकाशित

प्रतिक्रिया