×

कांग्रेसले कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुपर्छ : पूर्वमहामन्त्री सिंह

images

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगामी दिनमा कांग्रेसले कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

कांग्रेस काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले पछिल्लो समय परिवर्तन नरुचाएका तत्वहरू सलबलाउन थालेकाले कांग्रेस कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

“कांग्रेस कमजोर हुँदा प्राप्त उपलब्धि नै खतरामा पर्न सक्छ, प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । कांग्रेसले मात्र सबै राजनीतिक शक्तिलाई मिलाएर अगाडि बढ्नसक्ने उहाँको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्री सिंहले लामो समयदेखि संसद् चल्न नसकेको बताउँदै संसद् सञ्चालन गर्नका लागि सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । नेता सिंहले जनताको सुख, दुःखको साथी कांग्रेस भएको जनतालाई अनुभूति गर्न कांग्रेस नेता तथा कार्यकर्ताले सक्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बेले कांग्रेसलाई बलियो र सशक्त राजनीतिक शक्ति बनाउनका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । अग्रज नेताको अनुभव र युवा नेताको जोश, जाँगरलाई अगाडि बढाउन सकेमात्र कांग्रेस थप बलियो हुने उहाँको भनाइ थियो ।

कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले पार्टी सङ्गठनलाई गतिशील र चलायमान बनाउन सके अरु कुनै शक्तिले कांग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभयो ।

आइतबार​ ३ भदौ २०८० ०७:०५ AM मा प्रकाशित

प्रतिक्रिया