नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक नेता लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लागे देशलाई घात हुने बताउनुभएको छ । लाओस कुमार राईद्वारा लिखित ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ पुस्तकको आज लोकार्पण गर्दै उहाँले लोकरिझ्याइँका लागि लोकप्रिय कुरा गरेर नेताहरू स्थापित हुन खोज्दा राष्ट्र र राष्ट्रियतालाई अहित हुने बताउनुभयो ।
“लोकरिझ्याइँ र सस्तो लोकप्रियतामा लाग्दा देशलाई घाटा हुन्छ । राष्ट्रको हितका लागि सबैको एउटै सोच र विचार भएमात्रै राष्ट्रियता सबल हुन्छ । सङ्कीर्णताले राष्ट्रियता प्रवर्द्धन हुन सक्दैन ।” नेता कोइरालाले भन्नुभयो, “लोकतन्त्रमा विश्वास गर्नेहरूले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ । अहिले दण्डहीनता चरम सीमामा पुगिसकेको छ ।
जुनसुकै मुद्दा भए पनि अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक बनाएर छुट दिँदा अन्तर्राष्ट्रिय समुदायमा हाम्रो विश्वास घटेर जाँदैछ । सुशासनका कुरामा हामीले ध्यान दिन सकेनौँ भने अन्तर्राष्ट्रिय समुदाय र दुवै छिमेकीले हामीलाई विश्वास गर्दैनन् ।” अहिले शिक्षाका नाममा बौद्धिक व्यक्तित्व बाहिरिँदै गरेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यहीँ शिक्षा हासिल गर्दै युवालाई यहीँ उद्यम गर्ने वातावरण बनाउनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।
राजनीति विश्लेषक तथा पूर्वसांसद लालबावु यादवले २०६२/६३ पछि जातीयता र क्षेत्रीयताको कुरा फस्टाएको र राष्ट्रियता कमजोर भएको धारणा राख्नुभयो । “विसं २०६२/६३ पछि जातीयता र क्षेत्रीयताको कुरा फस्टायो, राष्ट्रियता कमजोर भयो ।
राष्ट्रियता कमजोर भएको यस्तो संवेदनशील बेलामा पुस्तक प्रकाशन गरेर चुनौतीपूर्ण काम भएको छ”, पूर्वसांसद यादवले भन्नुभयो, “अहिले लोकतन्त्रमा दोहोरो नीति चलिरहेको छ । अल्पमतले बहुमतलाई शासन गरिरहेको छ ।”
उहाँले किताब मेचीबाट महाकालीसम्म पुर्याएर लोकतन्त्रको विकास र प्रवर्द्धन गर्दै राष्ट्रियतालाई मजबुत बनाउन आग्रह गर्नुभयो । विश्लेषक यादवले विपी कोइरालाको दृष्टिकोणलाई बिर्सेर कांग्रेसले विश्व बैंकको दृष्टिकोणलाई बोकेको भन्दै इतिहास बिर्सेर राष्ट्रियता र लोकतन्त्र सबल हुन सक्दैन भन्ने धारणा व्यक्त गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानले उग्रस्वभावका विद्यार्थी नेता लाओस राईसँग आन्दोलनमा चिनजान भएको बताउँदै किताब लेखन गरेर राष्ट्रवादका बारेमा बहसको वातावरण सिर्जना गरेको धारणा राख्नुभयो ।
प्रधानले राष्ट्र भनेको भूगोलमात्रै होइन, मानवताको भावना पनि राष्ट्रवादभित्र पर्छ भन्ने तर्क गर्नुहुँदै पूर्ण लोकतन्त्रमा मात्रै राष्ट्रवाद अगाडि बढ्न सक्ने तर्क गर्नुभयो । उहाँले लेखक आओसलाई बहुआयामिक व्यक्तित्व बन्न सक्ने क्षमता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल विद्यार्थी सङघका पूर्वअध्यक्ष तथा कांग्रेसका नेता गुरुराज घिमिरेले अहिले कार्यकर्तामा भएको रचनात्मक क्षमता हराएर जाने र राजनीतिबाट बाहिरिने परिस्थिति सिर्जना भएको बताउनुभयो ।
लेखन र राजनीतिलाई समानान्तररूपमा लान सकियो भने राजनीति परिस्कृत हुने धारणा राख्नुहुँदै उहाँले पुस्तक प्रकाशन गरेर कांग्रेसमा खण्डित हुन लागेको बौद्धिक रिक्ततालाई पूर्ति गर्न, बौद्धिक परम्परालाई पछ्याउने प्रयत्न गरेको बताउनुभयो ।
पूर्वसांसद हीरा गुरूङ, नेपाल प्रेस युनियनका उपमहासचिव तथा किताबका सम्पादक युवराज गौतम, नेपाल तरुण दल केन्द्रीय सानुबाबु महर्जनलगायतले मन्तव्य राख्नुभएको थियो । पुस्तकका लेखक लाओसले जनता, नेतृत्व, अर्थतन्त्र र सुरक्षाको संयोजन राष्ट्रवादभित्र पर्ने धारणा राख्दै ‘सायरेम्मा राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ किताबलाई देशभर पुर्याउने बताउनुभयो ।
प्रतिक्रिया